मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री मातहतका दुई मन्त्रालयले मन्त्री पाउने

प्रदेश १

विराटनगर । लामो समयदेखि मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा रहेका दुई मन्त्रालयले मन्त्री पाउने भएका छन् । मुख्यमन्त्री राईले प्रदेश सरकार सम्हालेसँगै आफ्नै मातहतमा राखेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन् ।

ती मन्त्रालयमा एक वर्ष पहिले नियुक्त भएका राज्यमन्त्रीहरुलाई नै मन्त्रीको जिम्मेवारी दिन लागिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । लामो समय मन्त्रीविहिन भएका मन्त्रालयमा राज्यमन्त्री आएर केही काम भएको जस्तो देखिएपनि मन्त्रीको रुपमा रहेका मुख्यमन्त्री राई मन्त्रालयको कामको सिलसिलामा कहिल्यै ति मन्त्रालयमा नपुग्ने गरेको गुनासो आउने गरेको थियो ।

यी हुन् नयाँ मन्त्री
प्रदेश सरकार मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । नयाँ आउन लागेका मन्त्रीहरुमा माओवादी केन्द्र छाडेर आएका मन्त्री टंक आङ्बुहाङ र नेपाल समूहबाट ओली समुहमा आएकी उषकला राई छन् । आङबुहाङलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राईलाई सामाजिक विकास मन्त्रालय दिने निश्चित भएको छ। अन्य दुईजना राज्यमन्त्रीमा उदयपुरकी सांसद कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सपथ लिने जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सपथका लागि तयारी गर्न भनेपछि प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ । यद्यपि मुख्यमन्त्री राईले प्रदेश प्रमुखको कार्यालयमा नयाँ मन्त्रीहरुको नामावलीसहितको पत्र पठाउन बाँकी रहेको स्रोतले जनाएको छ । सपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फूलमन्त्री’ पाउने छन् भने प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय हुनेछ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com