प्रदेश १ मन्त्रीपरिषद् विस्तारको तयारी, टंक आङबोहाङ र उषाकला राई मन्त्री बन्ने

विराटनगर । प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधन राईले दुईजना मन्त्री तथा दुई जनासम्म राज्यमन्त्री थप गरेर मन्त्री परिषद् विस्तार गर्न लागेका हुन् ।

प्रदेश मन्त्रीपरिषद्को उच्च श्रोतले मकालु खबरलाई दिएको जानकारीअनुसार टंक आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री र मन्त्री उषाकला राई सामाजिक विकासमन्त्री बन्ने तय भएको हो ।

आङबोहाङ् केही समय अघि मात्र नेकपा माओवादी केन्द्र छोडेर केपी ओली पक्षमा खुलेका हुन् । यसअघिका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदबाट बर्खास्त गरेका थिए । आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कामको नेतृत्व गरेका थिए ।

यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेले पदबाट राजीनामा दिएपछि यो मन्त्रालय पनि खाली छ । उनी एमालेमा नेता माधवकुमार नेपाल पक्षका सांसद हुन् ।

‘शुक्रबार मन्त्रीपरिषद् विस्तार गरि सपथ ग्रहण गर्ने तयारी छ’, श्रोतले भन्यो ‘दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्ने तयारी हो । नाममा सहमति हुन नसके दुई मन्त्री र एक राज्यमन्त्री मात्र भएपनि शुक्रबार मन्त्रीपरिषद् विस्तार हुन्छ ।’

यसैगरी कला घलेलाई राज्यमन्त्री बनाउने निश्चित भएपनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेको श्रोतले जनाएको छ । यस्तै थप एकजना राज्यमन्त्री पनि थप गर्ने तयारी भइरहेपनि नाम भोली बिहानसम्ममा मात्र तय हुने श्रोतको दावी छ । सम्भावित राज्यमन्त्रीमा राजकुमार ओझा, जसमाया गजमेर र बसन्तीदेवी यादवको नाम चर्चामा छ ।

गजमेर यसअघि सामाजिक विकास राज्यमन्त्रीबाट राजिनामा दिएर अविश्वास प्रस्तावमा सही गरेपनि पछि फेरि हस्ताक्षर फिर्ता लिएर मूख्यमन्त्री राईकै पक्षमा खुलेकी थिइन् ।

मुख्यमन्त्री राईले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेपनि अहिले राज्यमन्त्रीको भरमा रहेका दुई मन्त्रालयमा भने मन्त्री नियुक्त नगर्ने भएका छन् । प्रदेश १ मा भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय लामो समयदेखि राज्यमन्त्रीको भरमा छन् ।

प्रतिक्रिया