बराबरीपछि प्रशिक्षक बालगोपाल भन्छन्- म सन्तुष्ट छु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालले गोल गर्ने धेरै अवसर पाए पनि फिनिसिङ लाइनमा चुकेको स्वीकारेका छन् । थ्री नेसन्स कपअन्तर्गत कीर्गिस्तानसँगको बराबरी नेपालले खेलेपछि प्रशिक्षक महर्जनले नेपालले निकै राम्रो खेलेको बताए ।

दशरथ रंगशालामा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । नेपालले खेलअवधिभर कीर्गिस्तानलाई दबाबमा राखेपनि गोल गर्न सकेन । नेपालको मुख्य कमजोरी नै गोल नगर्नु बन्यो । कीर्गिस्तानसँग घरेलु नेपालले बराबरी खेलेपनि प्रशिक्षक महर्जनले भने सन्तुष्ट रहेको बताए । उनले भने, ‘धेरै वर्षपछि रंगशालामा राष्ट्रिय टिमले खेलेको छ । खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु । तीन महिनादेखि अभ्यास गरेपनि मैत्रीपूर्ण खेल भएको थिएन ।’

गोल गर्ने अवसर धेरै पाएपनि अवसर सदुपयोग गर्न नसकेको स्वीकारे । ‘स्कोर निस्केन । हामीले धेरै अवसर पायौं । आगामी खेलमा त्यसलाई सुधार गर्दै गोल गर्ने प्रयास गर्नेछु । गोल गर्न नसकेको पक्कै हो‚’ उनले थपे, ‘मैले छानेको टिम एकदम राम्रो छ । पहिलो खेल हो । सुधार गर्दै जाने हो । सुधार गर्नुपर्ने कुरामा म तयार छु । हामीले दबाबमा दिएर खेल्यौं । फरवार्ड र मिडफिल्डरले अलिकति धैर्यता नदिँदा गोल गर्न चुक्यौ की जस्तो लाग्छ ।’

पहिलो हाफमा नै आधा दर्जन जति अवसर पाउँदा गोलविहीन बनेको नेपालले दोस्रो हाफमा पनि गोल गर्ने राम्रो अवसर निकालेको थियो । ४९ औं मिनेटमा तेजको हेड कीर्गिस्तानका गोलकिपर प्रियादकिन अर्तेमले बचाए । ५९ औं मिनेटमा त्रिदेवको स्थानमा सुजल श्रेष्ठ मैदानमा छिरे । त्यसपछि पनि नेपालले पाएको अवसरहरु सदुपयोग गर्न सकेन । खेलको ६२ औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड बल आउट गयो ।

खेलको ६७ औं मिनेटमा कीर्गिस्तानका तासिभ कामोलिदिनले अभिषेकलाई लडाउँदा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । योसँगै १० खेलाडीमा सीमित बनेको कीर्गिस्तान थप दबाबमा परेको थियो । तर नेपालले पुनः अवसर सदुपयोग गर्न सकेन । १० जनामा सीमित कीर्गिस्तानविरुद्ध गोलको अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो । नेपाल र कीर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा प्रवेश गरेको छ । अब नेपाल र कीर्गिस्तानबीच एक टिम फाइनल प्रवेश गर्नेछ । त्यसको टुंगो भने नेपाल र बंगलादेशबीचको खेलले लाग्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया