नेपाल र कीर्गिस्तान गोलरहित बराबरीमा

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आयोजक नेपाल र कीर्गिस्तानको यु–२३ टिमले बराबरी खेल्दै अंक बाँडेको छ । योसँगै बंगलादेश भने थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ ।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अन्जन विष्टले हानेको हेड पोस्टको दिशामा जान सकेन । १० औं मिनेटमा अनन्त तामाङले पाएको हेड बल, १४ औं मिनेटमा पोलमा लागेर फर्किएको बल, २९ औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किक र ३३ औं मिनेटमा रवि पासवानको क्रसमा अन्जनले बाहिर हानेको बल नेपालको राम्रो मुभ थियो । तर कुनै पनि अवसरमा गोल हुन सकेन ।

पहिलो हाफमा नै आधा दर्जन जति अवसर पाउँदा गोलविहीन बनेको नेपालले दोस्रो हाफमा पनि गोल गर्ने राम्रो अवसर निकालेको थियो । ४९ औं मिनेटमा तेजको हेड कीर्गिस्तानका गोलकिपर प्रियादकिन अर्तेमले बचाए । ५९ औं मिनेटमा त्रिदेवको स्थानमा सुजल श्रेष्ठ मैदानमा छिरे । त्यसपछि पनि नेपालले पाएको अवसरहरू सदुपयोग गर्न सकेन । खेलको ६२ औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड बल आउट गयो । त्यसको दुई मिनेटपछि रन्जितकै फ्रिकिकमा अन्जनले हानेको बल बाहिरियो ।

खेलको ६७ औं मिनेटमा कीर्गिस्तानका तासिभ कामोलिदिनले अभिषेकलाई लडाउँदा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । योसँगै १० खेलाडीमा सीमित बनेको कीर्गिस्तान थप दबाबमा परेको थियो । तर नेपालले पुनः अवसर सदुपयोग गर्न सकेन । ७३ औं मिनेटमा रन्जितको गम्भीर गल्तिलाई नेपालका गोलकिपर कप्तान किरणले बचाएका थिए । रन्जितले दिएको ब्याक पास किरणले गोललाइनबाट बचाएका हुन् ।

७४ औं मिनेटमा नेपालले दुई खेलाडी परिवर्तन गर्‍यो । अन्जनको स्थानमा दर्शन गुरुङ र अभिषेकको स्थानमा भरत खवास परिवर्तन भए । नेपालको लगातारको गोलको कमजोरी त्यसपछि पनि सुधार हुन सकेन । ७५ औं मिनेटमा दिनेशको क्रस पासमा सुजलले डिबक्समा पाएको फ्रि बलमा गोल गर्न सकेनन् ।

८६ औं मिनेटमा सन्जोगको स्थानमा विशाल राई र रन्जितको स्थानमा निशान खड्कालाई परिवर्तन गरियो । निशानको राष्ट्रिय टिमको जर्सीबाट पहिलो खेल हो । त्यसपछि पनि नेपालले राम्रो गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । १० जनामा सीमित कीर्गिस्तानविरुद्ध गोलको अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यू-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो । नेपाल र कीर्गिस्तानबीच कुन टिम फाइनलमा पुग्ने हो त्यसको टुंगो भने अन्तिम खेलबाट छिनोफानो हुनेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया