नेपाल र कीर्गिस्तानको यु-२३ टिमबीच पहिलो हाफसम्म गोलरहित बराबरी

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आयोजक नेपाल र कीर्गिस्तानको यु–२३ टिमबीचको पहिलो हाफ गोलरहित बराबरीमा पुगेर टुंगिएको छ । नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा कीर्गिस्तानको युवा टिमविरुद्ध ४-५-१ को फर्मेसनमा खेलिरहेको हो ।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अन्जन विष्टले हानेको हेड पोस्टको दिशामा जान सकेन । १० औं मिनेटमा अनन्त तामाङले पाएको हेड बल, १४ औं मिनेटमा पोलमा लागेर फर्किएको बल, २९ औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किक र ३३ औं मिनेटमा रवि पासवानको क्रसमा अन्जनले बाहिर हानेको बल नेपालको राम्रो मुभ थियो । तर कुनै पनि अवसरमा गोल हुन सकेन ।

थ्री नेसन्स कपमा यो नेपालको पहिलो खेल हो । नेपालले कीर्गिस्तानको यु-२३ टिमलाई हराए फाइनलमा स्थान बनाउनेछ ।

तर कीर्गिस्तानको यु–२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया