कीर्गिस्तानको यु-२३ टिम र नेपालबीच खेल सुरु

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आयोजक नेपाल र कीर्गिस्तानको यु–२३ टिमबीचको खेल सुरु भएको छ । नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा कीर्गिस्तानको युवा टिमविरुद्ध ४-५-१ को फर्मेसनमा खेलेको छ ।

थ्री नेसन्स कपमा यो नेपालको पहिलो खेल हो। नेपालले कीर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउनेछ । तर कीर्गिस्तानको यु–२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ ।

नेपालले कप्तान किरण चेम्जोङको नेतृत्वमा खेलेको हो। प्लेइङ इलाभेनमा कप्तान किरणसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान अन्जन विष्ट र अभिषेक रिजाल छन् ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया