भारतमा संक्रमण बढ्दो, छैन नाकामा सतर्कता

  • सुमन सुस्केरा 

विराटनगर । विराटनरका रामकुमार ऋषिदेव निरन्तर भारतबाट आउजाउ गर्नेमध्येका एक हुन् । घरका लागि आवश्यक सामग्री खरिदका लागि भारतीय बजारको भर पर्ने उनी चामल, दाल, तेल, चिनीका लागि जोगवनी नै पुग्छन् । विराटनगरबाट नजिकैको नाका जोगबनी नै भएको कारण आफू सामान लिनका लागि जोगवनी आउने गरेको सुनाए ।

सामान लिनका लागि जोगवनी जाने नाका भनेको विराटनगरस्थित रानीको मूल नाका होइन । उनी मूल नाकाभन्दा करिब १ किलोमिटर पश्चिममा बनाइएको वैकल्पिक नाका हुँदै आउजाउ गर्ने गर्छन् । ‘मूल नाका बन्द छ, हामीलाई आउजाउ गर्न दिइँदैन‚’ उनले भने, ‘अर्को बाटोबाट जान दिन्छन्‚ त्यहीँबाट गएर आउने गरेको छु ।’ उनीमात्र होइन‚ उनीजस्ता धेरैको दैनिक उपभोग्य सामग्रीका लागि गन्तव्य भनेको जोगवनी नाका नै हो । रानीको मुख्य नाका सुनसान भएपनि चोरबाटोबाट आउने र जानेको भीड लाग्ने गरेको छ ।

सरकारले रानी नाका २०७६ चैत ११ देखि नै सिल गरेको छ तर चोरबाटोहरूमा भारततर्फ जाने आउनेको घुइँचो देखिन्छ ।

No description available.

भारत जाने आउनेले मास्कको समेत प्रयोग गरेको पाइँदैन । विराटनगर- १६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैया र वडा नम्बर १५ स्थित इस्लामपुरबाट भारततर्फ आउने जानेको घुइँचो लाग्ने गरेको ऋषिदेवले बताए ।

सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीकै अगाडिबाट खुल्लमखुल्ला चोर बाटोबाट भारततर्फ आउने-जाने क्रम हरेक दिन हुने गरेको छ । मूल भन्सार नाकाबाट भारततर्फ जान खोज्नेलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै अर्को बाटो जान भन्दै चोर बाटो देखाउँछन् ।

विराटनगर जुट मिलको दक्षिण गेटबाट दैनिक बिहान ५ बजेदेखि राती ८ बजेसम्म नै आउजाउ हुने गरेको स्थानीय बताउँछन् । चोर नाका भएर दैनिक करिब २ लाख जना भारततर्फ जाने-आउने गरेको स्थानीयको अनुमान छ ।

दरैयाका बिनोदकुमार रसाइलीले दैनिक एक लाख बढी मानिस भारततर्फ जाने-आउने गरेको बताए । अहिलेकै अवस्था रहे भारतमा बढेको कोरोना संक्रमणको दर विराटनगरमा पनि देखिन सक्ने उनको भनाइ छ । भारतमा कोरोना संक्रमण फैलिएका प्रान्तबाट समेत मानिस आउने र जाने क्रमले विराटनगरमा संक्रमणको जोखिम बढेको बिनोदले बताए ।

मोरङका ६३ किलोमिटरमध्ये मुख्य मुख्य नाकाबाट आउजाउ निरन्तर भइरहेको छ । छोटी नाका तरिगामा, सिक्टी, रंगेलीलगायतका नाकाबाट पनि भारततर्फ जाने र आउने क्रम चेकजाँच र परीक्षणबिना भइरहेको छ । रंगेलीका जाहिर मियाँले भारतबाट आउने र जाने क्रम नरोकिएका कारण सीमा क्षेत्रमा कोरोनाको जोखिम बढेको बताए । ‘यस्तै अवस्था रह्यो भने अब संक्रमण नेपालमा पनि बढ्नेछ,’ उनले भने, ‘नाकामा कडाइ मात्र गर्ने हो भने पनि धेरै नियन्त्रण हुन सक्छ ।’

सरकारी नियन्त्रण
हेल्थ डेस्क राखिएको ठाउँबाट परीक्षण गरेर आउने पक्षमा कोही पनि देखिँदैनन् । चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्दै जाँदा यसको असर नेपालका सीमा क्षेत्रका नागरिकमा पर्ने देखिन्छ । रानीको मुख्य नाका एकिकृत भन्सार जाँच चौकी हुँदै आउनेहरुको संख्या दैनिक करिब ३० जनामात्र रहेको हेल्थ डेस्कमा खटिएकी अनमी उषा मेहताले बताइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सीमा नाकामा भारतबाट आउनेहरूभन्दा पनि नेपालबाट सामान किन्न जाने र साँझ फर्किनेहरू धेरै रहेकाले समस्या भएको बताए ।

No description available.

जिल्लामा कुनै नाका सहज रुपमा खुल्ला गरिएको छैन भने भारतमा कारोनाको दोश्रो लहर देखिएपछि ती नाकाहरूमा थप कडाइ गर्ने बारेमा आज भएको छलफलमा सिसिएमसी जिल्ला समितिको बैठकले पनि सीमा नाकामा थप कडाइ गर्ने निर्णय भएको छ । चोर बाटोबाट भइरहेको अनियन्त्रित अवागमनलाई कडाइका साथ नियन्त्रण गरिने निरौलाको दाबी छ ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले मूल नाका बन्द भएपनि नजिकैको विकल्पको रुपमा अर्को ठाउँबाट सर्वसाधारणको आउजाउ भइरहेको बताए । ‘हामीले रोक्ने प्रयास गर्दागर्दै पनि जनताले अटेर गरेका छन्,’ उनले भने‚ ‘हामी अबको १/२ दिनभित्र त्यसलाई पूर्णरुपमा बन्देज लगाउँछौँ ।’

प्रतिक्रिया