प्रदेश १ मा बढ्न थाले संक्रमित

विराटनगर । दुईदिन अघिसम्म खाली भएका कोभिड अस्पतालहरुमा अब संक्रमितको संख्या थपिने देखिएको छ । बुधबारसाँझ मात्र प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमण देखिएको छन् ।

मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा बुधबार ३२२ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो ।

पछिल्ला संक्रमितको ट्रेसिङ गरिएको छैन । प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएकामध्ये ४६६ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लगाएका छन् ।

प्रतिक्रिया