धम्बोझी र त्रिवेणीको जित

काठमाडौं । धम्बोझी र त्रिवेणीले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा जित निकालेका छन् । बुधबार भएको खेलमा धम्बोझीले धादिङ समाजलाई र त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई पराजित गरेका हुन् ।

बुधबार भएको खेलमा धम्बोझीले धादिङ समाज धादिङलाई २-१ ले हराएको हो । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंकसहित स्टार सिटी कैलाली शीर्ष स्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक भएको छ । गोलअन्तरको आधारमा त्रिवेणी दोस्रो स्थानमा छ ।

धम्बोझीको जितमा निशान लिम्बुले दुबै गोल गरे । उनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै क्लबलाई अग्रता दिलाए ।  धादिङका विजय भुजेलले १६औं मिनेटमा गोल गर्दै १—१ गोलको बराबरी दिलाए । पहिलो हाफसम्म १—१ गोलको बराबरी खेलेको धम्बोझीका निशानले ६१औं मिनेटमा अर्को गोल गर्दै २—१ गोलको जित दिलाए ।

त्यसैगरी नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले पराजित गर्‍यो । त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे । लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८औं मिनेटमा गोल गरे ।

जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ । शीर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि छ । सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यो लिगको शीर्ष चारमा पर्ने टिमले राष्ट्रिय लिगमा भाग लिने छन् ।

प्रतिक्रिया