सप्तरी प्रिमियर लिग : अनिल साहको लगातार शतक

काठमाडौं । राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित निकालेका छन् ।

सप्तरीको राजविराजमा जारी प्रतियोगितामा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई ८९ रनले पराजित गरेको हो । राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए । उनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । सुनिल धमलाले १६ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बजाज खडक वारियर्सका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल र विवेक यादवले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल साहले लगातार दोस्रो शतक बनाए । उनले सर्वाधिक ११३ रन बनाउने क्रममा ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। अनिलले अघिल्लो खेलमा बोदे बर्साइन थन्डर्सविरुद्ध पनि शतक बनाएका थिए । उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात ६० बलमा शतक पुरा गरेका थिए । वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए । उनले २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। रुपनी राइडर्सको बलिङमा अनिल यादवले २ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्न सफल भयो । किंग्स राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठी कोइलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्‍यो । तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए । दिपेश कंडेलले अविजित ३० र सन्तोष कार्कीले १८ रन बनाए । किंग्सको बलिङमा दिनेश अधिकारी र मेहबुब आलमले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो । किंग्स राजविराजको लागि कप्तान मेहबुब आलमले अविजित ७८ रन बनाए । तिलाठी कोइलाडीको बलिङमा राशिद खान र दिपेश कंडेलले समान ३—३ विकेट लिए ।

प्रतिक्रिया