कोभिड संक्रमण नकारात्मकतातिर गयो‚ भयावह हुन नदिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् ।

यद्यपि अहिले भयावहको स्थिति नभइसकेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड-१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताए । पूर्ण रुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए । उनले भने‚ ‘३ दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या होकि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्छ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेसन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन ।’

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै फेरिपनि असर कम पर्ने बताए । उनले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले भने‚ ‘हामीकहाँ यसको असर कम पर्‍यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी फैलन दिदैनौँ । दिनुहुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे ।

प्रतिक्रिया