रहिनन् प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी

काठमाडौँ । प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी प्रसाईंको ९० वर्षको उमेरमा निधन भएको छ । झापाको बिएण्डसी अस्पतालमा उपचाररत प्रसाईंको गएराती निधन भएको हो ।

राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी प्रसाईंले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकी थिइन् । पार्टीको गुटगत राजनीतिका कारण उनी पराजित हुनुभएको जानकारहरु बताउँछन् ।

नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली जनताका वाक्, प्रकाशन स्वतन्त्रता जस्ता अधिकार प्राप्तिका लागि आवाज बुलन्द गरेवापत तत्कालीन पञ्चायती सरकारले सर्वस्वहरणसहित जीवनसाथी सिके प्रसाईंलाई देश निकालाको कारवाही गर्दासमेत प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अघि बढ्न उनले उत्प्ररित गरेको नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाले बताए ।

उनका अनुसार निष्ठाको राजनीति गर्ने अग्रणी महिला नेतृको देहावसानले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छ ।

प्रजातान्त्रिक समाजवादका योद्धा सिके प्रसाईंसँगै राजनीतिमा सक्रिय रहेकी प्रसाईंको जन्म १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरीका रूपमा जन्म भएको थियो ।

प्रसाईंका छोरा विवेककेशरी, बुहारी सङ्गीता, छोरीहरू रमिता र नम्रता छन् । दिवङ्गत प्रसाईंको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने कांग्रेस झापाका सभापति थापाले जानकारी दिए ।

प्रतिक्रिया