जनप्रतिनिधिको मिलेमतोमा बुढीखोला दोहन, जोखिममा बस्ती

विराटनगर । सुनसरीको दुहबी नगरपालिका र बुढिगंगा गाउँपालिकाको बिचबाट बग्ने बुढिखोलाको अवैध दोहन भएको छ । दुहबी नगरपालिका वडा नम्बर ६ र बूढीगंगा गाउँपालिका वडा नम्बर ५ को सिमानामा पर्ने बूढीखोलामा माटो प्रशोधनको नाममा अवैध दोहन भएको हो ।

अवैध दोहनले बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन् । खोलामा भएका अवैध गतिविधिले दुहबी वडा नम्बर ६ को बस्ती र खोलाको किनारमा रहेको नम्बरी तथा बुढीगंगा गाउँपालिकाको वडा नम्बर ५ का बस्तीहरु उच्च जोखिममा परेका बुढिगंगाका फतन ऋषिदेबले बताए ।

बस्ती छेउमै रहेको बूढीखोलामा डोजर लगाएर खोला उत्खनन् गर्ने क्रममा नरोकिएको स्थानीय बताउँछन् । दैनिक सयौँ टिपर र ट्याक्टरबाट अवैध रुपमा बालुवा तथा बाटो उत्खनन् गर्दासमेत स्थानीय जनप्रतिधिले चासो नदिएको ऋषिदेबको आरोप छ ।

माटो तथा बालुवा उत्खनन्को नाममा गाउँपालिकाका अध्यक्ष बालचन्द माझी र दुहबी नगरपालिकाका मेयर बेदकुमार गच्छदारकोसमेत मिलेमतोमा अहिलेको अवैध उत्खनन् भएको दाबी स्थानीयको छ । प्रारिम्भक वातावरणीय परीक्षण प्रतिवेदनको मुल्यांकन नै नगरि भएको उत्खनन्ले भोेली बस्ती बग्ने खतरा बढेको ऋषिदेब समुदाय बताउँछन् ।

बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले खोलाबाट माटो उत्खनन् गर्न केही ठाउँमा अनुमति दिएको स्वीकार गरे । उनले अवैध उत्खनन् भएको क्षेत्रमा अनुगमन गरिने बताए । खोलाको भंगालो नै परिवर्तन हुने गरि भएको अवैध उत्खननको असर अहिले नदेखिएपनि वर्षाको समयमा ठूलो हानी गर्नेछ ।

खेलामा भएको अवैध गतिबिधि रोक्न स्थानीय जनप्रतिनिधिको भूमिका हुनुपर्नेमा चासो नदिएको कारण प्रहरीलाई रोक्न समस्या भएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक शंकरप्रसाद खतिवडाले बताए । ‘खोलाको अवैध उत्खनन् रोक्न जनप्रतिनिधिहरूको पनि उत्तिकै दायित्व हुन्छ, उनले भने, ‘हामीले मात्र गरेर समस्याको समाधान देखिँदैन, पक्राउ गर्यो एकैछिनमा जनप्रतिनिधिका फोन आउँछ ।’

प्रतिक्रिया