पठाओ सेवा रोकेका छैनौं : एसपी अधिकारी

काठमाडौं । ट्राफिक प्रहरीले पठाओलगायत कुनै पनि राइडिङ सेवा बन्द गर्नेबारे निर्णय नभएको जनाएको छ । मकालु खबरसँगको कुराकानीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने‚ ‘पठाओलगायत कुनै शेयर राइडिङ सेवा प्रदायकलाई कारबाही गर्ने/नगर्ने भन्ने हामीले निर्णय गर्न सक्ने कुरा होइन र त्यस्तो निर्णय भएको पनि छैन ।’

‘पछिल्लो समय चालकहरू झुरुप्प भएर बस्नाले आवागमन प्रभावित भएको र आवागमन व्यवस्थित गर्न अलि कडाइ गर्ने तयारी भने गरिएको हो‚’ उनले भने ।

पठाओ चालक वा अरु पनि चालकले आवागमन प्रभावित गर्नेगरी गाडी वा मोटरसाइकल पार्किङ गरे, झुरुप्प भेला भएर बसे र ट्राफिक नियमविपरीत काम गरेमा कारबाही हुने उनले बताए ।

पठाओका चालकलाई ट्याक्सी व्यवसायीले कुटपिट गरेको घटना र पछिल्लो समय चालकहरू भेला भएर बस्नाले समस्या भएकाले व्यवस्थित रुपमा सेवा दिन आग्रह गरिएको र त्यसको अनुगमन कडाइका साथ गरिने एसपी अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

‘सबैतिरबाट पठाओ सेवा बन्द गर्ने निर्णय गरेको हो भन्दै सोध्ने गरिएको छ,’ उनले भने, ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं, तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’

प्रतिक्रिया