कीर्गिस्तानको य‍ू-२३ टिमविरुद्ध बंगलादेशको जित

काठमाडौं । बंगलादेशले थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले कीर्गिस्तानको युवा टिमलाई १—० गोलअन्तरले पराजित गरेको हो ।

बंगलदेशले आफ्नो पहिलो खेलमा नै कीर्गिस्तानको यु-२३ टिमलाई पराजित गर्दै फाइनल यात्रालाई सहज बनाएको छ । बंगलादेशले पहिलो हाफमा उपाहार गोलसँगै बनाएको अग्रतालाई कायमै राख्दै जित निकालेको हो । खेलको ३० औं मिनेटमा कीर्गिस्तानले आत्मघाती गोल खान पुग्यो ।

मोहम्मद सादउद्धिनको क्रसलाई बचाउन खोज्दा कुमारबाज उलु बाइयामानले आफ्नै पोष्टमा गोल गरेपछि बंगलादेश १—० गोलले अघि बढेको थियो ।

खेलको अन्तिम समयमा किर्गिस्तानले करिब २२ यार्ड टाढा फ्रिकिक पाएको थियो । जापारोभ अमिरले प्रहार गरेको फ्रिकिक रियादुल हसनले बचाएपछि किर्गीस्तानले गोल गर्ने अवसर गुमाएको थियो ।

बंगलादेश र कीर्गिस्तानबीच अहिलेसम्म चार पटक भेट भएको छ । जसमा चारै पटक कीर्गिस्तानले जितेको छ । बंगलादेशले कीर्गिस्तानलाई हराएपनि कीर्गिस्तानको भने यु-२३ टिम हो ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भने नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यु–२३ टिमसँग खेल्नेछ । नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया