कर्मचारीलाई खाजा समय आधा घण्टा मात्र

काठमाडौं । सरकारले २०७८ सालमा सार्बजनिक विदा कार्यालय समय र खाजा समय निर्धारण राजपत्रमा प्रकाशन गरेको छ । जसअनुसार आगामी बैशाखदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सबै कार्यालयले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने छ ।

साथै खाजा समय कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने पनि राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

अहिले सरकारी कार्यालयमा खाजा समय एक घण्टा हुने गरेकाे छ । एकै समयमा खाजा समय हुने गरेकाेमा राजपत्रमा काममा बाधा नपर्ने गरि ब्यवस्थापन गर्न भनिएकाले अब आलाेपालाे गरेर खाजा समय ब्यवस्थापन गर्नुपर्नेछ ।

वर्षभरिका ५२ शनिवारसहित नयाँ वर्ष बैशाख १ गते, रक्षाबन्धन भाद्र ६, छठ पर्व कार्तिक २४ गते, माघी पर्व माघ १ गते र महाशिवरात्री फागुन १७ गते र फागु पूर्णिमा चैत्र ३ गते हिमाली र पहाडि जिल्लामा र तराईका २१ जिल्लामा चैत ४ गते बिदा दिने गरी मुलुकभर सार्वजनिक बिदा हुने पर्व विदा राखिएको छ । तराईका २१ जिल्लामा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्छन् ।

यसैगरी, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुमा जेठ १२ गते किराँत राई, याख्खा, सुनुवार, लिम्बु जातीको उभौली पर्व चण्डी पूर्णिमा, भदौ १४ गते गौरा पर्व, इस्लाम धर्मावलम्बीहरुको इद उल फित्र र ईद उल अजहा पर्व, पौष ४ गते किराँत जातिको उधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा), इसाई धर्मावलम्बीहरुको पर्व किरागरा डे पौष १० गते, तमू ल्होसार पौष १५ गते, सोनम ल्होसार माघ १९ गते, हिमाली आदिवासी शेर्पा मसुदायले मनाउने ग्याल्पो ल्होसार फागुन १९ गते र सिरुवा पावनीको दिन झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा पर्व बिदा दिइएको छ ।

यसैगरी माघ २३ गते वसन्त पञ्चमीमा शिक्षण संस्थालाई सार्वजनिक बिदा दिइएको छ । महिला कर्मचारीको लागि मात्र बिदा हुने पर्व हरितालिका तीज भदौ २४ गते र जितिया पर्व बनाउने महिला कर्मचारीको लागि असोज १३ गते बिदा दिइएको छ ।

काठमाडौ उपत्यकामा मनाउने जात्रा बिदाहरुमा गाइजात्रा भदौ ७ गते, इन्द्रजात्रा असोज ३ गते, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने दिन र घोडेजात्रा चैत १८ गते परेका छन् ।

यस वर्षको दशैं बिदा फुलपातीको दिन असोज २६ गतेदेखि असोज ३० गते एकादशीसम्म र तिहार बिदा कार्तिक १८ गते लक्ष्मीपूजाको दिनदेखि कार्तिक २१ गते भाइटिकाको भोलिपल्टसम्म दिइएको छ ।
यसैगरी मुलुकभरी सबैलाई हुने सार्वजनिक दिवस बिदाहरुमा विश्व मजदुर दिवस बैशाख १८ गते, गणतन्त्र दिवस जेठ १५ गते र राष्टिय प्रजातन्त्र दिवस फागुन ७ गते यसपटक शनिवार परेका छन् । संविधान दिवस असोज ३ गते र अन्तर्राष्टिय महिला दिवस फागुन २४ गते भने सार्वजनिक बिदा परेका छन् ।

अपाङ्गता भएका कर्मचारीका लागि मात्र डिसेम्बर ३ तारिखमा पर्ने अन्तर्राष्टिय अपाङ्गता दिवस मंसीर १७ गते नेपालभित्रका सम्पूर्ण अपाङ्गता भएका कर्मचारीका लागि बिदा दिइएको छ ।

मुलकभर दिइने सार्वजनिक जयन्ती बिदाहरुमा बुद्ध जयन्ती जेठ १२ गते परेको छ भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र दिइने जयन्ती बिदाहरुमा किराँत धर्माबलम्बीले मनाउने फाल्गुनन्द जयन्ती कार्तिक २५ गते परेको छ भने नेपाली सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्ती मंसीर ३ गते परेको छ ।
सरकारले सार्वजनिक गरेको बिदाको विवरणमा राष्टिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवस भनेर जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्टिय दिवस जेठ २१ गते, निजामति सेवा दिवस भदौ २२ गते, राष्टिय एकता दिवस पुस २७ गते र शहीद दिवस माघ १६ गते परेका छन् ।

यसैगरी विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरुलाई समेत दृष्टिगत गरी बढिमा १८ दिनसम्म सार्बजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्ने व्यवस्था राखिएको छ ।

सरकारले अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायरब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदि रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरुले सार्बजनिक बिदाको दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्बजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पु¥याई सट्टा बिदा बस्न सक्ने व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।

कार्यालय हाजिर हुने र छुट्ने समय नेपालभरका सबै सरकारी कार्यालयमा बैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म निर्धारण भएको छ ।शुक्रवार सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ने जनाइएको छ ।

 

प्रतिक्रिया