अरुण तेस्रोको ७०२ मेगावाट विद्युत् बिक्री गर्न बोलपत्र आह्वान

काठमाडौं । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने ७०२.९ मेगावाट विद्युत् बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

संखुवासभाको अरुण नदीमा निर्माण भइरहेको उक्त ९०० मेगावाटको आयोजना अहिलेकै गतिमा काम भए अबको डेढ वर्षभित्र अर्थात् सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल लगानी बोर्डको नियमनमा अघि बढीरहेको उक्त आयोजनाको हालसम्म ४० प्रतिशत निर्माण सकिसकेको आयोजनाका अधिकारीले बताएका छन् । हाल  आयाेजनाकाे सुरूङ र बाँधस्थल निर्माण कार्य चलिरहेकाे छ ।

विद्युत् निर्यात गर्न पाउने व्यवस्थासहित उक्त आयाेजनाकाे निर्माण अघि बढाइएको थियो । विद्युत् उत्पादन हुने मिति नजिकिँदै गएकोले आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्रीका लागि प्रवर्द्धक कम्पनीले बोलपत्र आह्वान गरेको जनाएको छ ।

१५ वर्षसम्म कम्तिमा पनि १० मेगावाट विद्युत्को खरिदबिक्री गरेको अनुभव भएको एकल तथा संयुक्त उपक्रम(जोइन्ट भेन्चर) कम्पनीले पनि आयोजनाको विद्युत खरिदका लागि बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

लगानी बोर्डसँग भएको परियोजना विकास सम्झौता(पीडीए) अनुसार उक्त आयोजनाबाट नेपालले १९७ मेगावाट विदुत् २५ वर्षसम्म निःशुल्क पाउने छ । त्यस्तै, आयोजनाबाट २५ वर्षसम्म प्रभावित प्रतिपरिवार ३० युनिट विद्युत् उपब्ध गराइने छ । स्थानीयलाई सेयर, प्रभावित गाउँ तथा वडाहरुमा सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधारको विकास गरिने समेत उल्लेख छ । २५ वर्षपछि आयोजना चालू हालतमा नेपाल सरकारको स्वामित्वमा आउने पीडीएमा उल्लेख छ ।

निर्यातमुखी आयोजना भएकोले कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ । उक्त प्रशासरण लाइनमार्फत ढल्केबर सबस्टेशनमा पुग्ने विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभि लाइनबाट भारतमा निर्यात गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् कुनै पनि भारतीय कम्पनीले किनेमा नेपालको विद्युत्का लागि भारत तथा दक्षिणपूर्वी एसियाको बजार विस्तार हुँदै जाने अपेक्षा गरिएको छ ।

२२५ मेगावाट क्षमताको ४ वटा युनिटबाट ९ सय मेगावाट बिजुली उत्पादन गरिने गरी आयोजनाको विद्युत् गृह निर्माण भइरहेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक नेपाली कम्पनीलाई भारतको सरकारको स्वामित्व रहेको कम्पनी सतलज जलविद्युत् निगमले प्रवर्द्धन गरेको हो । सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ । जसमा हिमाञ्चल प्रदेशको २५ .५१ प्रतिशत र बाँंकी सर्वधारणको सेयर छ ।

सतलजल जलविद्युत्ले सन् २०२३ सम्म ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ । सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

 

 

प्रतिक्रिया