राष्ट्रपति भण्डारीलाई ढाकामा स्वागत‚ के के छन् कार्यक्रम ?

काठमाडौं । राजकीय भ्रमणमा बंगलादेश पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गरेका छन् । बंगाबन्धु सेख मुजिबर रहमानको जन्मोत्सव र बंगलादेश स्वतन्त्र भएको ५०औं वर्ष पुगेको अवसरमा राष्ट्रपति भण्डारी बंगलादेश पुगेकी हुन् ।

सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत् ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई त्यहाँका राष्ट्रपति हमिदले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

उनी यस अवसरमा बंगलादेश भ्रमण गर्ने प्रथम नेपाली राष्ट्रपति भएको बंगलादेशका समाचार संस्थाले जनाएका छन् ।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । त्यहाँ राष्ट्रपति भण्डारीले राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलीका गरेकी छिन् ।

त्यसपछि उनले प्रधानमन्त्री सेख हसिनासँग भेटवार्ता गर्नेछिन् भने साँझ नेसनल परेड ग्राउन्डमा विशेष अतिथिका लागि हुने एक कार्यक्रममा समेत सहभागी जनाउनेछिन् । उक्त कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री सेख हसिनाको समेत उपस्थिति रहनेछ ।

बेलुका बंगाभवनमा उनको बंगलादेशी राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ । सो कार्यक्रममा केही सम्झौतापत्रमा हस्ताक्षर हुनेसमेत जनाइएको छ ।

त्यस्तै बंगाभवनमै विभिन्न सांस्कृतिक कार्यक्रमका साथै डिनरको कार्यक्रमको समेत आयोजना गरिनेछ ।

यसैगरी मंगलबार बिहान राष्ट्रपति भण्डारी ढाकास्थित नेपाली राजदूतावासमा जाने कार्यक्रम रहेको छ भने दिउँसो साढे ३ बजे ढाका नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया