राष्ट्रपति बंगलादेश प्रस्थान, यी विषयमा हुँदैछ सम्झौता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८ : ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

उनी ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सोपश्चात् उनी त्यहाँको राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् । उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी विषयमा हुँदैछन् सम्झौता
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर-सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ । त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रमणबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने बताएका थिए ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर-सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले छिमेकी र अन्य मुलुकसँग पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याउँनाका साथै आपसी उच्चस्तीय भ्रमण तथा सम्बन्ध विस्तारको क्रमलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया