प्रदेश १ मा बिओपीको संख्या १०४ पुग्यो

विराटनगर । मोरङका नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको तीन वटा बोर्डर आउट पोष्ट (बिओपी)स्थापना गरिएको छ । रंगेलीको धनापट्टी, सुनबर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बिओपी स्थापना गरिएको हो ।

सिक्टी बिओपीका लागि सुनबर्षी नगरपालिकाले १० कठ्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख उपलब्ध गराएको छ । यस्तै, धनापट्टी बिओपीकाा लागि रंगेली नगरपालिकाले ११ लाखको लागतमा उपभोक्ता समितिमार्फत र मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तिर्थ पौडेलले बताए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा १ सय १४ वटा थपेर २ सय २१ वटा बिओपी पु-याउने लक्ष्यअन्तर्गत मोरङमा तीन वटा बिओपी थपिएको जानकारी दिए । ६३ किलोमिटर नेपाल-भारत सीमा भएको मोरङमा बिओपीको संख्या ११ पुगेको छ । प्रदेश १ मा २२ वटा नयाँ बिओपी थपिएको दाहालले बताए । यस प्रदेशमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या ५२ र नेपाल-चीन सीमा क्षेत्रमा २ गरी ५४ वटा बिओपीको संख्या पुगेको उनले सुनाए ।

सरकारले अब दोस्रो चरणमा नेपाल-भारत सीमा क्षेत्रमा बिओपीको संख्या थपेर ५ सय पु-याउने लक्ष्य लिएको छ । जस अन्तरगत ती स्थानहरुमा जग्गा छनौटको काम भइरहेको शसस्त्र प्रहरीले जनाएको छ । प्रदेश १ मा दोस्रो चरणमा बिओपीको संख्या थपिएर ७६ वटासम्म पुग्ने देखिएको दाहालले बताए । बिओपीको संख्या ७६ वटा पुगेपछि एउटा बिओपीदेखि अर्को बिओपीसम्मको दुरी ३ देखि ४ किलोमिटरमा झर्ने छ ।

अहिले थपिएको बिओपीका लागि भएकै जनशक्तीले पुगेको तर अब थपिने बिओपीका लागि जनशक्ती समेत थपिनु पर्ने बताए । सिमा क्षेत्रमा बिओपीको संख्या बृद्धि भएसँगै चोरी तस्करी नियन्त्रण, अबैध ओसारपसारमा नियन्त्रण, लागुऔषध तथा अबैध हतियार नियन्त्रण तथा आपराधिक गतिबिधि रोकिने सरकारको दाबी छ ।

प्रतिक्रिया