बार्सिलोनाको फराकिलो जित, एथ्लेटिको मड्रिड पनि विजयी

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध ६-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम रियल सोसिडाडविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सी र सर्जिन्हो डेस्टले समान २-२ गोल गर्दा एन्टोनी ग्रिजम्यान र ओस्मान डेम्बेलेले समान १-१ गोल गरे । रियल सोसिडाडका एन्डर बारेनेटक्साले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाए । ४३ औं मिनेटमा सर्जिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफसम्म २-० गोलको अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा सर्जिन्होले गोल गर्र्दै बार्सिलोनाका लागि ३-० को अग्रता दिलाए । ५६ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दा बार्सिलोनाले ४-० को अग्रता बनायो । ७१ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५-० को फराकिलो अग्रता दिलाए । ७७ औं मिनेटमा एन्डरले गोल फर्काउँदै रियल सोसिडाडलाई ५-१ को स्थितिमा ल्याए । तर ८९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६-१ गोलको जित दिलाए ।

त्यस्तै, अर्को खेलमा लिड लिडर एथ्लेटिको मड्रिडले जित निकालेको छ। एथ्लेटिको मड्रिडले अलाभेसलाई १-० गोलअन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा लुइस स्वारेजले खेलको ५४ औं मिनेटमा गोल गरे ।

जितसँगै एथ्लेटिको मड्रिडले २८ खेलबाट ६६ अंक बनाएको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ । तेस्रो स्थानमा झरेको साविक विजेता रियल मड्रिडको समान खेलबाट ६० अंक छ ।

प्रतिक्रिया