मेयर महिला च्याम्पियनसिपमा पाँच टिम

काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा पाँच टिम सहभागी हुने भएका छन् ।

चैत २१ गतेदेखि २८ गतेसम्म चल्ने प्रतियोगितामा गएको पुसमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सेमिफाइनल पुगेका टिमसँगै ‘मेयर एघार’ टिमले खेल्ने भएका हुन् । प्रधानमन्त्री कपमा प्रदेश नम्बर १, एपिएफ, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका थिए । ‘मेयर एघार’मा रहने पाँचौं टिममा क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गर्नेछ ।

पाँच टिमले एकअर्कासँग एक–एक खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल खेल्नेछन् । प्रतियोगितमा विजेता टिमले तीन लाख र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याटरले १५ हजार रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतिक्रिया