थ्री नेसन्स कप मंगलबारदेखि, प्रतियोगिताको तयारी पूरा

काठमाडौं । नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिएको हो ।

थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत १० गतेदेखि सुरु हुँदैछ । मैदान सिंगारिएको छ भने, हरियो दुबोले रशरथ रंगशालामा सबैको ध्यान तान्ने गरेको छ । कोरोनाको संकटकालपछि नेपालले पहिलो प्रतियोगिता खेल्न लागेको हो । यसअघि बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेपनि लामो समयदेखि कुनै प्रतियोगिता भने कोरोनाको कारण खेल्न पाएको थिएन ।

अन्तर्राष्ट्रिय रुपमा पनि कोरोनापछि फुटबल फर्किएको सन्देश समेत दिनका लागि आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीबारे एन्फाका प्रवक्ता भन्छन्, ‘तयारी लगभग सकिएको छ । अब सुरक्षा मिलाउनेदेखि टिकट बिक्रीको कार्यहरूमात्रै बाँकी छन् ।’

एन्फाले मेडिकल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । आइतबार त्रिपुरेश्वरमा एन्फाको तर्फबाट स्वास्थ्य विभाग प्रमुख निरज खड्की र अस्पताल विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता एक वर्षसम्मका लागि हुने एन्फाले जनाएको छ । राष्ट्रिय टिमका खेलाडी तथा शहिद स्मारक ए डिभिजन लिग खेल्ने खेलाडीको ५ लाख, बी र सी डिभिजन लिग खेल्ने खेलाडीको तीन लाखको बीमा पनि अस्पतालले गर्नेछ ।

त्यस्तै, थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने भएको छ । एन्फाले पुरानै सम्झौताअनुसार नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीले ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमले चैत १० गते प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ । एन्फले निकालेको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ । नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ ।

अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया