आर्मीले श्रीलंका पुलिससँग दशरथ रंगशालामा खेल्ने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्लेअफको खेल आफ्नै घरेलु मैदानमा खेल्ने भएको छ । आर्मीले दशरथ रंगशालामा चैत २५ गते श्रीलंका पुलिससँग खेल्ने भएको हो ।

एएफसीले यसअघि नै खेल तालिका सार्वजनिक गरेपनि खेल हुने स्थान भने तोकेको थिएन । अब एएफसीले जारी गरेको खेल स्थानअनुसार आर्मीले आफ्नै मैदानमा श्रीलंका पुलिससँग खेल्ने भएको हो। एएफसी कपमा पुग्नको लागि यो प्लेअफ खेल हो । आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिसबीचको विजेताले वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा बैशाख १ गते हुनेछ । आर्मी तथा श्रीलंका पुलिसमध्ये एक र बैंगलुरुबीचको विजेताले बैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीबीचको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ । यी टिमबीचको विजेताले भारतको बैगलुरु, नेपालको आर्मी र श्रीलंकाको पुलिस क्लबसँग प्लेअफको फाइनलमा खेल्नेछ ।

प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउनेछ ।

२०७६ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मी उपविजेता बनेको थियो । पहिलो पटक विजेता बनेको मछिन्द्र क्लबले एएफसी कप खेल्नु पर्ने हो । तर एएफसी क्लब लाइसेन्स मछिन्द्र क्लबसँग छैन ।

केही महिनाअघि नेपाली क्लबले एएफसी लाइसेन्सको लागि दिएको आवेदन एएफसीले मापदण्ड नपुगेको भन्दै लाइसेन्स दिन नेपालका १३ वटा क्लबलाई अस्वीकार गरेको थियो । तर आर्मी क्लबले भने थप सुधार गर्दै एएफसी क्लब लाइसेन्सको लागि पुनः आवेदन दिएको थियो । त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दिएको थियो । एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेल्न लागेको हो ।

प्रतिक्रिया