बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं । साविक विजेता बायर्न म्युनिकले बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिकले भिएफबी स्टुटगार्टलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम बायर्न खेलको १२ औं मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । अल्फोन्सो डेभिसले वाटरु इन्डोको खुट्टामा टेकेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा झरेको बायर्नले त्यसपछि झनै राम्रो खेल्यो । खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै रोबर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए । बायर्नले ६ मिनेटभित्रमा तीन गोल गरेको हो । २२ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० गोलको अग्रता दिलाए ।

२३ औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई ३-० गोलको अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा अर्को गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । योसँगै पहिलो हाफसम्म बायर्नले ४-० गोलको फराकिलो अग्रता बनाएको थियो । पहिलो हाफमा चार गोल गरेको बायर्नले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

लिगको शीर्ष स्थानमा रहेको बायर्नको यो जितसँगै २६ खेलबाट ६१ अंक भएको छ । पराजित स्टुटगार्टको भने २६ खेलबाट ३६ अंक छ ।

प्रतिक्रिया