टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

विराटनगर । झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका-४ चिया बगानमा ३ जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा रतुवामाई नगरपालिका-८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाईते भएकामध्ये एकजनाको बिर्तामोडको बीएण्डसी अस्पताल र एकजनाको दमकमा रहेको लाइफलाइन अस्पताल मृत्यु भएको हो । रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते अवस्थामा बी एण्ड सी अस्पतालमा उपचाररत छन् ।

दुर्घटनापछि अनियन्त्रित बनेको टिपर सडकको साइडमा रहेको एउटा रुखमा ठोक्किन पुगेको थियो । टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि भएको दुर्घटनाबाट जोगिन खोज्दा अर्को मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर को २८ प ११३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा दुई जना घाइते भएको डिएसपी कार्कीले बताए ।

दुर्घटनामा परेर उक्त मोटरसाइकलका चालक मोरङको उर्लाबारी नगरपालिका-८ का ४० वर्षीय तुलाराम ढुङ्गाना र ८५ वर्षीय शिवलाल ढुङ्गाना सामान्य घाइते भएका छन् । दुवै जनाको दमकस्थित निम्स अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया