अंक दूरी घटाउँदै रियल

काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएका खेलमा रियलले सेल्टा भिगोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु टिमविरुद्ध जित निकाल्दै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । खेलको २० औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा फेरि उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० गोलको अग्रतामा पुर्याए । खेलको ४० औं मिनेटमा सान्टी मिनाले गोल गरेपछि सेल्टा भिगोले पहिलो हाफसम्म २-१ को स्थिति बनाएको थियो ।
पहिलो हाफसम्म २-१ ले पछि परेको रियलले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो । खेलको अन्तिम समयमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए । त्यस्तै, ला लिगा मै भएका अन्य खेलमा रियल बेटिसले लेभान्टेलाई २-० ले पराजित गर्दा एथ्लेटिक क्लब र इबार १-१ गोलको बराबरी खेलेका छन् । त्यस्तै, भालाडोलिड र सेभियाले पनि १-१ गोलको बराबरी नै खेल्दा हुएस्का र ओसासुनाले भने गोलरहित बराबरी खेलेका छन् ।
जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलको २८ खेलबाट ६० अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग रियलले अंक दूरी पनि तीनमा झारेको छ । एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको २७ खेलबाट ५९ अंक छ ।








