इंग्ल्यान्डविरुद्धको सिरिज भारतलाई

काठमाडौं । घरेलु टिम भारतले इंग्ल्यिान्डविरुद्धको टि-२० क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै सिरिज जितेको हो ।

पाँच खेलको सिरिज भारतले ३-२ ले जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २२४ रनको उच्च योगफल तयार पारेको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ८० रन बनाए ।

त्यस्तै, रोहित शर्माले ६४, हार्दिक पाण्ड्याले अविजित ३९ रन बनाउँदा सुर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डका आदिल रािशद र बेन स्टोक्सले समान १-१ विकेट लिए ।

२२५ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८८ रन मात्रै बनाउन सक्यो । जस बटलर र डेविड मलानले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा इंग्ल्यान्डले हारेको हो ।

शुन्यमै पहिलो विकेट गुमाएको इंग्ल्यान्डले दोस्रो विकेटको लागि १३० रनको बनाएको थियो । जसमा डेविड मलानले ६८ र जस बटलरले ५२ रन बनाए । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिदा इंग्ल्यान्ड भारतसँग ३६ रनले हारेको हो ।

भारतका लागि बलिङमा शार्दुल ठाकुरले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए ।

प्रतिक्रिया