मेयरसँग कुरा नमिल्दा बिचमै सरुवा

  • सुमन सुस्केरा

विराटनगर । विराटनगर महानगर घोषित हुँदा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला थिए । सरकारले विराटनगर उपमहानगरलाई २०७४ जेठ १७ गते महानगरपालिका घोषणा गरिदिएपछि कोइरालाको २०७४ कात्तिक ७ गते सरुवा भयो । लगत्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको नजिक मानिएका पात्र प्रदीपकुमार निरौलालाई ल्याइयो । २०७४ कात्तिक ६ गते प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका निरौला २०७५ जेठ २ गते एक वर्ष पनि नहुँदै सरुवा भए ।

मेयर पराजुलीको ईच्छामा आएका उनको सरुवा चाँडै होला भनेर कसैले सोचेका पनि थिएनन् । त्यही क्रममा २०७५ जेठ ३ गते प्रमुख प्रशासकीय अधिकृतमा कुमार दाहाल आए । प्रशासनिक रुपमा एकदमै कडा स्वाभावका उनी एक वर्ष नपुग्दै २०७५ फागुन २६ गते सरुवा भए । उनको सरुवालाई पनि प्रमुख प्रशाकीय अधिकृकत र जनप्रतिनिधिबिचको बेमेलको रुपमा हेरियो ।

त्यसपछि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका एकदेव अधिकारी २०७५ चैत ४ गते महानगरमा हाजिर भएका थिए ।

एकदेव अधिकारीको एक वर्षमै २०७६ चैत ५ गते सरुवा भएको थियो । काम गर्ने ऊर्जासहित आएका उनलाई पनि लामो समय विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीयको रुपमा काम गर्न दिइएन । यही सरुवा हुने मध्येकै अर्का प्रमुख प्रशासकीय अधिकृत हुन् इन्द्रमणि पोखरेल । २०७६ चैत ६ गते सरुवा भएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका पोखरेलको फागुन १४ गते ऊर्जा मन्त्रालय सरुवा भएको छ ।

यसरी माथि उल्लेखित प्रमुख प्रशासकीय अधिकृतहरुको अधिकांशको एक वर्षभन्दा बढी कार्यकाल देखिँदैन । एक जनाको एक वर्ष पूरा भएपनि अधिकांशको एक वर्ष पूरा भएको छैन । सहसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृतहरु एक वर्ष पनि नबित्दै सरुवा हुँदा धेरै कामहरु अन्योलमा पर्ने गरेको जनप्रतिनिधिहरु नै स्वीकार गर्छन् ।

त्यसपछि प्रशासकीय अधिकृत पोखरेलको ठाउँमा स्याङजाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत आएका छन् । महानगरमा जनननिर्वाचित प्रतिनिधि आएपछि हालसम्म साढे तीन वर्षमा बस्नेत छैठौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा देखिएका हुन् । एक वर्षको कार्यकाल व्यतीत गर्न आएका ५ जना प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये एक जनाले मात्रै आफ्नो पूरा कार्यकाल बिताएर गएका छन् ।

सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरु, क्रमशः दीपक कोइराला, इन्द्रमणि पोखरेल, एकदेव अधिकारी, कुमार दाहाल र प्रदीपकुमार निरौला ।

यी हुन् कारण
प्रमुख प्रशासकीय अधिकृतले एक वर्षे कार्यकाल पूरा नगर्नुमा केही कारणहरु छन् । जसको पहिलो कारण भनेको आफ्नो जनप्रतिनिधिसँग कुरा नमिल्नु हो ।

महानगरका प्रमुख भीम पराजुलीसँग कुरो नमिलेर सरुवा हुने गरेको केही जनप्रतिनिधिको भनाइ छ । सहसचिवहरुलाई प्रायः एक बर्ष भन्दा बढी बस्न स्थानीय तहमा बस्न नदिने गरिएको जनप्रतिनिधि बताउँछन् । अर्को भनेको प्रमुख प्रशासकीय अधिकृत आफैँ पनि सरुवा मागेर जान खोज्ने गर्नु पनि हो ।

‘कतिपय प्रमुख प्रशासकीय अधिकृत काम गर्ने मन हुँदा हुँदै पनि बिदा लिएर गएको देखिन्छ’, विराटनगर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विनोद बस्नेतले भने, ‘कुरा मिल्दा बस्ने हो, मेयर, उपमेयर तथा प्रमुख प्रशासकीयको कुरा मिल्दा काम गर्ने वातावरण बन्छ । उनीहरुबिचको टीममा कुरा नमिल्दा काम गर्ने वातावरण बन्दैन उनीहरु हिँड्छन् ।’ सरुवा भएर आएका सहसचिव सबै स्थानीय तहमा नै बसेर नआएका हुँदा उनीहरुलाई नै काम गर्न असहज हुने गरेको जनप्रतिनिधिको भनाइ छ ।

सरुवा राजनीति
महानगरपालिकामा सहसचिवको रुपमा अहिले सरुवा भएर आएका उमेश बस्नेत सहित ३ जना हुन् । अन्य ३ जना उपसचिव थिए । शुरुमा सचिवको रुपमा आएका कुमार दाहाल र त्यसपछिका इन्द्रमणि पोखरेल सहसचिवका कुशल प्रशासकको रुपमा चिनिएका व्यत्ति हुन् । विराटनगर महानगरपालिकामा सरुवा भएर आएपछि उनीहरुलाई शुरुका दिनमा काम गर्ने वातावरण मेयरले नै नदिएको उनीहरु बताउँछन् ।

पोखरेललाई पनि मेयर पराजुलीले विश्वास गरेनन् । उनले काम गर्दै गए त्यही बिचमा मेयर पराजुलीले उनलाई सरुवा गर्नको लागि निक्कै दबाब दिएको उनी निकट श्रोत बताउँछ । पोखरेलले काम गर्न अप्ठ्यारो भएपछि उनी आफैँ सरुवाको लागि काठामाडौं निक्कै धाउन थाले । योबिचमा बिदा नै बस्नुपर्ने अवस्थासमेत आएको थियो । जब, पोखरेल सरुवाको लागि दौडधुप गर्न थाले अनी मात्र मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृतको बिचमा सम्बन्ध सुध्रिएको एक कर्मचारीले बताए ।

जब पोखरेलको फागुन १४ गते सरुवा भयो, उनी १७ गते नै रमाना लिएर हिँड्ने तयारीमा थिए । मेयर पराजुलीले नगर सभा सम्पन्न गरिदिन आग्रह गरेपछि उनी बसेका थिए । त्यही बिचमा जनप्रतिनिधिहरुबाट नै कर्मचारी नियुक्तिको प्रमुख प्रशासकीयलाई चर्को दबाब आएपछि उनले २५ गते नै सरुवाको लागि रमाना लिएको बताए । भर्खरै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले काम गर्ने क्रममा केही सजिला अप्ठेरा हुने बताए । ‘शुरुका दिनमा केही असजिलो भएपनि काम गर्ने सिलसिलामा पछिल्लो दिनमा भने मेयरसँग सहज हुँदै गएको थियो’, पोखरेल भन्छन्– ‘त्यो बेलासम्म मेरो सरुवा भइसकेको थियो ।’

‘मैले गर्नुपर्ने काम सुशासन कायम गर्नको लागि केही पहल गरेको थिएँ’, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भनेका छन्, ‘सरुवा भएको व्यक्ति नगरसभामा नबस्दा हुन्छ भन्ने कुरा आयो । २८ गते नगरसभा थियो, मैले २५ गते रमाना लिएँ ।’ उनको बिदाई भने महानगरपालिकाले फागुन १ गते मात्र गरेको थियो । काम गर्ने ऊर्जासहित आएका सहसचिवलाई काम गर्ने वातावरण जनप्रतिनिधिले भूमिका खेल्नुपर्नेमा त्यो हुन सकेन ।

प्रतिक्रिया