मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सनातन धर्म र हिन्दु बिचका अन्तर

  • रवीन्द्र भट्टराई

धर्मका मूल दुई अर्थ छन्: गुणबोधक अभिलक्षणा (पानीको बग्नु, हावाको चाल हुनु) र धारण वा वरण गरिएको आचरण । यस हिसाबले धर्म विज्ञान र अध्यात्म दुवैसँग जोडिन्छ । प्राकृतिक गुणवर्णनतिर जाँदा यो विज्ञानमय हुन्छ । वरण गरिएको विश्वासमा आधारित आचार वा मतावलम्बी हुन गए त्यो अध्यात्ममय हुन जान्छ ।

वस्तु र विश्वास दुवै विज्ञानका अध्ययन क्षेत्र हुन्- खालि विज्ञानको फाँट विभाजनका कारण फरक जस्ता देखिन्छन् । नेपालमा सनातन धर्मलाई हिन्दू धर्म भनेर व्याख्या गरिने गरेको पाइन्छ तर नेपालको प्रागऐतिहासिक पाटोलाई हेर्दा सनातन र हिन्दू धर्म एकै थिएनन् र होइनन् भन्ने देखिन्छ । यसैले नेपालको सनातनी परम्परामा सनातन धर्म र हिन्दू धर्मबीच रहँदै आएका केही प्रतिनिधिमूलक सामञ्जस्य र अन्तरविरोधहरूलाई औँल्याउँदै बौद्धिक विमर्शका विषयवस्तु पस्कने जमर्को गरिएको छ :-

स्वतन्त्र मुलुकका रूपमा नेपाल
टेथिस सागरको समाप्तिको भौगर्भिक उथलपुथलले सिर्जना गरेका भू-भागमा नेपाल, तिब्बत र भारतका हिमालय, महाभारत र चुरे शृङ्खला पर्छन् । करिब छ करोड ५० लाख वर्षअगाडि उत्पत्ति भएका यी भूभागमा यसबीचमा अनेकन साना भौगर्भिक र भौगोलिक परिवर्तन हुँदै आएका छन् । हालको नेपालको भूभागमा रहेलगायतका भूभागमा मानव बसोबास र सभ्यताको विकास कहिलेदेखि हुन थाल्यो भन्ने विषयमा त्यस्ताे भरपर्दो अनुसन्धान निष्कर्ष आएका पाइँदैनन् ।

वैज्ञानिक तरिकाले गरिएका काल गणनाको हिसाबले स्वतन्त्र भौगोलिक क्षेत्र र मानव समाजको सक्रियता रहेको अवधि भने कम्तीमा तीन हजार वर्ष पुरानो भइसकेकाे अनुमान छ । कम्तीमा आजभन्दा दुई हजार पाँच सय वर्ष अगाडि नेपाल र यसका पहाडी भूभागमा मानववस्ती रहेको र तिनले ऊनी र सूतीका कपडाहरू बुन्ने र व्यापारिक रूपमा निर्यात् गर्ने गरेको तथ्यको परोक्ष अभिलेख पाइन्छ । करिब दुई हजार तीन सय वर्ष पहिला लेखिएको मानिने कौटिल्यको अर्थशास्त्रमा नेपालमा अपसारक नाम गरेको सूती कपडा पाइने उल्लेख छ ।

गौतम बुद्धपूर्व अर्थात् वैदिक कालीन नेपाल
यसबाट नेपालको अस्तित्व दुई हजार वर्ष अगाडिदेखि नै आर्यवर्त (हिमाल दक्षिण महासागर पश्चिम, उत्तर र पूर्व) मा रहेको स्पष्ट हुन आउँछ । नेपालमा रहेका खस, किराँत, मैथिल, शाक्य, कोल, द्रविड र ब्रज/तिरहूत मूलका वासिन्दासँग सम्बन्धित कुल परम्परा र सांस्कृतिक अभ्यासहरूले नेपालमा वैदिक कालमा वैदिक र अवैदिक दुवै थरी मान्यतामा आधारित सांस्कृतिक परम्परा अवलम्बन हुँदै आएको दर्साउँछन् ।

अवैदिक बौद्ध परम्परा र वैदिक मन्त्र परम्पराको सामाञ्जस्यमा सांस्कृतिक अभ्यास हुँदै आएको शाक्यमुनी गौतमपूर्व नै हो । त्रयीका रूपमा रहेका वेदलाई चार वेदमा विभाजन गर्ने वेदव्यास (कृष्ण द्वैपायन) वैदिक परम्पराका अठ्ठाइसौँ व्यास मानिएका छन् भने शाक्यमुनी गौतम बुद्ध बौद्ध परम्पराका अठ्ठाइसौँ महाबुद्ध मानिएका छन् । खस र किराँत सभ्यता कास्गर क्षेत्रबाट कैलास मानसरोवर हुँदै बङ्गालसम्म हिमालयको उत्तर र दक्षिण भएर बगेका नद र नदीबीचको अग्ला हिमाली, पहाडी, दून र मैदानी क्षेत्रमा विकसित र विस्तारित भएको पाइन्छ ।

नेपाल तत्काल पहिचान बनाएको काठमाडाैँ उपत्यका र यसको परिसरमा पनि बौद्ध र वैदिक दुवै परम्परा समानान्तर रूपमा सामाञ्जस्यपूर्वक रहँदै आएको देख्न पाइन्छ । काठमाडौँका प्रायः सबै जसो मन्दिरमा बौद्धमार्गीका पनि अनुष्ठान (विहार) छन् भने बौद्ध विहार र चैत्यमा पनि वैदिक परम्पराका प्रतिनिधि शिव, गणेश वा सरस्वती र कतिपय ठाउँमा देवीको पनि प्रतिष्ठापन छ । वैदिक र बौद्ध दुवै परम्परामा तन्त्र र मन्त्र दुवैको प्रयोग हुन्छ । ओमकार र दीप प्रज्वलन गर्ने परम्परा पनि दुवैका साझा देखिन्छन् । कतिपय चाडपर्व पनि साझा छन् । यस पाटोमा गहन अनुसन्धान आवश्यक देखिन्छ ।

नाम भिन्दाभिन्दै दिए पनि शाक्यमुनीको समयसम्म यहाँका सभ्यतामा वैदिकहरूले प्राकृतिक शक्तिलाई तीन वर्ग (वसु, रुद्र र आदित्य), उत्पादक शक्तिलाई दुई (प्रजापति र इन्द्र) का रूपमा लिएर प्रकृति पूजन गर्थे । बौद्ध/किराँत परम्परामा दुई शक्ति साम्बा/पारुहाङ्मा, खसमा मस्टो (कुलायन) र १६ बैनी शक्ति हेर्ने, द्रविडमा शिव र माई मान्ने परम्परा रहँदै आएको पाइन्छ ।

यस हिसाबले हेर्दा गौतम बुद्धपूर्व वर्तमान नेपालको भूभाग र यसको परिसरका भूभागमा समेत उर्वरता र प्रजनन शक्तिस्वरूप शिव र शिवालाई आरध्य शक्ति मानिन्थ्यो । भौगोलिक र शक्तिका नाम कैलाश, शिवलेक (तराईको गर्मीविरुद्धको शीतल चुली), देवलोक (दैलेख), मस्टमाडौँ, किराँतेश्वर, वनष्कन्या(वनस्कन्डी) कुकुहाङ्बा, कुकुहाङ्मा आदिले त्यस कुरालाई पुस्ट्याउँछन् । हाम्रो (शिवलेक) चुरेलाई पश्चिमाले शिवालिक बनाइदिए त्यो अर्कै पाटो। प्रकृतिको मानवकल्याण र आनन्ददायी शक्ति नै शिव वैदिक कालमा रुद्रस्वरूपमा चिनिए । आज पनि शिवको वैदिक अनुष्ठान रुद्री नै भनेर चिनिँदो छ ।

प्रकृतिपूजकहरू एकेश्वरवादी हुँदै गए 
मेसेडोनियाका पर्सियाली राजा अलेग्जेन्डर महान् (३३६-३२३ इपू) ले हाम्रा पुर्खाका सम्पदा मात्र लगेनन् एकेश्वरवादी चेतना नामको विष पनि छोडेर गए । तत्कालीन सनातनी समाज वर्णाश्रम र गैरवर्णाश्रम सामाजिक परम्पराको सामाञ्जस्यमा गुज्रदैँ थियो ।

अलेक्जेन्डरले बहुदेववादी प्रकृतिपूजकलाई निन्दा गर्दै एक अपार र अद्भूत परशक्तिका भरमा यो सबै चलेको र प्रकृतिलाई त्यही शक्तिले परिचालित गरेको एकेश्वरवादी चेतना यो भूभागमा फैलाउने गरी उनी आर्यावर्तको यो मध्यभूमि घुमेर र अनेक स्रोत बटुलेर फर्किए । ग्रिसेली त्यो विश्वास प्लेटोको साहित्य र सत्यताको सम्बन्धको विचारबाट छ्याङ्ङ हुन्छ । प्लेटो जगतलाई सत्यबाट हजारौँ कोश टाडा देख्छन् भने साहित्यलाई जगतको सत्यताबाट हजारौँ कोश टाडा ।

अलेग्जेन्डरका उत्तराधिकारी सेलुकस निकेटरबाट (इपू ३०६-३०३) वैदिक ज्ञानकेन्द्र तक्षशिला र बौद्ध ज्ञानकेन्द्र नालन्दालाई ध्वस्त गरिदिए । वैदिक सनातन त्यसपछि क्रमशः शैवी वैष्णवी शाक्तमा र बौद्ध सनातन परम्परा महायान, बज्रयान, हिनयानमा बाँडिए । एकेश्वरवादी चेतना यिनमा हाबी हुँदै गयो र दुवै पुनर्जन्म र अवतारवादी ईश्वरवाद उदय भए ।

हिन्दू को ?
आर्यावर्ती मगध, कोल, कोशल, नेपालको सम्बन्ध चीनसँग स्थापित भइसकेको थियो । विक्रमादित्य शक्तिमा नआउन्जेलसम्म यिनीहरूले समयको गणना चन्द्रमाका आधारमा गर्थे । चीनमा भने पशुहरूको आधारमा समय गणना गरिन्थ्यो । चीनियाँहरू यताको सम्पर्कमा आएपछि तिनले हिमालदक्षिण इन्दुसरोवरसम्मको भूभागलाई इन्दु कहे यसो भन्नुको अर्थ यो क्षेत्रमा समय चन्द्रमा र समुद्र (इन्दु) को आधारमा गणना हुने भन्ने हुन्थ्यो । चीनी भाषामा पनि इन्दुको अर्थ चन्द्रमा नै हो । इन्दु भन्दाभन्दै हिन्दू भनिन थालेको थियो । उता पर्सियालीहरू सिन्धुलाई हिन्दू भन्थे (भारोपेली भाषा परिवारको केन्दम वर्गीय भाषामा शको उच्चारण ह हुने भएकाले)। यसरी सम्भवतः यही फारस चीनिया नामकरणबाट हिन्दू भन्ने पहिचान सुरु भयो ।

अलेग्जेन्डरले रोपेको विषवृक्षमा विक्रमको ५०० पछि इस्लामी मूलका तैमुर, ओरङ्गजेब, सुल्तान समसुद्दिनले गरेका पटकपटकका आक्रमणले सनातन पौरस्त्य वर्णाश्रमी सामाजिक व्यवस्था हिन्दू धर्ममा रूपान्तर भयो । सनातनीहरू वैदिक र अवैदिक जेजति थिए ती हिन्दू र बौद्ध परम्परामा एकेश्वरवादी पन्थ परम्परामा लागे । सनातनीहरू नै शैवी, शाक्त, वैष्णव, प्रणामीजस्ता पन्थी हिन्दू भए भने बौद्धमार्गीहरू पनि महायानी, हिनयानी र बज्रयानी बनिँदै पन्थधर्मी हुँदै गए ।

जरैचाहिँ उखेलिन सकेन
क्रिस्तानी र इस्लामी एकेश्वरवादी चेतनाको प्रत्युक्तिमा सनातन परम्परा धर्मको नाम दिएर हिन्दू र बौद्धका पन्थमार्गी बन्दै गए पछि हिन्दू बुद्धका बीचमा पनि तीब्र मतभेद सिर्जना भयो । शङ्कराचार्यजस्ता कट्टर हिन्दूवादी चेतना प्रसारकले सनातनको आश्रम प्रणालीको ढाँचा नै बदलिदिए । वनप्रस्थ र सन्यास योगी (जोगी) परम्परामा बदलियो ।

ब्रह्मचर्यबाट गृहस्थ प्रवेश नगरी जोगी बन्ने परम्पराले सनातनलाई हिन्दू बनाउनमा ठूलै काम गर्र्यो । जन्मका आधारमा जातपात र दण्डको प्रणाली स्थिर भयो । सिँजा, नेपाल र किराँत क्षेत्रमै यो कुरूप प्रणालीले धार्मिक र राज्यशासन वा कानुनकै मान्यता पायो । यति हुँदाहुँदै पनि प्रकृतिपूजन गर्ने तेत्तीस कोटी देउता मान्ने र अन्य रूपले प्राकृतिक शक्तिलाई मान्ने केहीले यी पान्थलाई सहँदै मान्दै अगाडि आए र आफ्ना पितापुर्खाले मानिआएका परम्परा निरन्तर गरे । तैमुरले लुट्न आएका बेला किराँत, नेपाल र सिँजाले मिलेर तिनलाई लघार्दै दिल्लीसम्म पुर्र्याएर समाप्त पार्ने कामको सिलसिलामा सुरु भएको देउसी भैलो र तिहार आफ्नै पाराले मनाउने नेपाली चलन अझै सनातन परम्पराकै निरन्तरतामा छ ।

शिवरात्रीका समयमा जगात् उठाउने चलन पनि यही मेसोमा साझा परम्पराका अद्यापि बाँचेकै छ । देउराली त्यस्तो एउटा अनुष्ठान् अद्यापि बाँकी छ – जुन सनातनी सबैको देउता हो – शिवको प्रतीक हामी डाँडाडाँडामा ढुङ्गो ठड्याउँदै वा ढुङ्गाका खिप्टा थप्दै चुल्याउँछौँ र पाती चढाउँछौँ । हाम्रा वास्तविक शिवजी तिनै डाँडो वा घाँटी पार गर्दाका देउराली भन्ने आस्था हुन् । हामी अद्यापि प्रकृतिपूजनको सनातन परम्पराको निरन्तरतामै छौँ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com