महिलालाई ‘जिउँदै खाल्डोमा पुर्ने’ डोजर चालक पक्राउ

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा महिलालाई जिउँदै खाल्डोमा पुरेकाे अभियाेगमा डोजर चालक पक्राउ परेका छन् ।
जिल्लाको खोल्सी जिपजिपेमा गत फागुन १७ गते घाँस बोकेर घर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेकाे अभियाेगमा चालक भीमबहादुर बुढाथोकी पक्राउ परेकाे प्रहरीले जनाएकाे छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुल थापाले मकालु खबरसँग भने- ‘घटना अलिक अगाडिको हो, पक्राउ चाहिँ आज गरिएकाे हाे ।’
घटनापछी चालक बुढाथोकी भागेर भारत पुगेका र उनलाई सीआईबीकाे टाेलीले पक्राउ गरेकाे हाे ।भारत पुगेर फेरि नेपाल आएर केही समय बसि भारततर्फै फर्किन लागेका बेला उनलाई नेपाल भारत सीमाबाट पक्राउ गरिएकाे डीआईजी थापाले जानकारी दिए ।
कुमाल गत फागुन १७ गते घाँसको भारी बोकेर घरतर्फ आउँदै गर्दा भारी अनियन्त्रित भई थाम्न नसकेर खाल्डोमा लडेकी र उनी लडेकाे चालक बुढाथोकीले देखे पनि उनलाई बचाउनुको साटो वरिपरीकाे माटो जम्मा गरेर पुरिदिएकाे त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष देवीकुमारी पाण्डेले मकालु खबरलाई जानकारी दिइन् ।








