४० बर्षपछि भारतको जेलबाट आज रिहा हुँदै दुर्गाप्रसाद

काठमाडौं । भारतमा ४० वर्षदेखि जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज (शुक्रबार) जेलमुक्त हुने भएका छन् । दीपक जैसी भनिने तिम्सिनालाई रिहा गर्न कोलकाता उच्च अदालतले बुधबार आदेश दिएपछि उनी शुक्रबार रिहा हुन लागेका हुन् ।

उनलाई लिन उनका काकाका छाेरासहित परिवारका सदस्य कोलकाता पुगिसकेका छन् ।

कोलकाताको केन्द्रीय कारागारमा सबै प्रक्रिया पूरा गरेर अदालत, नेपाली महावाणिज्य दूतावासका प्रतिनिधि र परिवारको रोहबरमा छाड्ने तयारी छ । तिम्सिनालाई शनिबार नेपाल ल्याइने र पत्रकार सम्मेलन गरी परिवारको जिम्मा लगाउने रहेको उनको रिहाइमा पहल गरिरहेको विश्व सेवा विस्तार संस्थाले जनाएको छ ।

गत बुधबार कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्ध रोयको इजलासले तिम्सिनालाई जेलमा राखिराख्दा न्याय सम्पादनको कुनै पनि उद्देश्य पूरा नहुने भन्दै  धरौटीमा छाड्न आदेश दिएको हो । फैसलामा स्वास्थ्य अवस्थाका कारण पनि उनलाई छोड्ने आदेश दिइएको उल्लेख गरिएको छ ।

चिकित्सकले अदालतमा पेश गरेका स्वास्थ्य परिक्षण प्रतिवेदनमा ६१ बर्षीय तिम्सिनाको स्वास्थ्य अवस्था ९ वर्षको बालकको जस्तो रहेको उल्लेख गरिएको छ । अदालतले फैसलामा तिम्सिनाको स्वास्थ्य अवस्थाबारे ६/६ महिनामा नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउन उनका भाइ प्रकाश तिम्सिनालाई भनेको छ ।

तिम्सिना २०३७ सालतिर तोरी बेच्न भनेर घरबाट इलामको मंगलबारे गएका बेला दार्जिलिङतिर लगएको परिवारले जनाएको छ । त्यहाँ रहँदा सन् १९८० मे ११ मा हत्या आरोपमा उनी जेल परेका हुन् । दार्जिलिङकी जनु गुरुङको हत्या अभियोगमा उनका श्रीमान् नैने घलले किटानी जाहेरी दिएपछि तिम्सिना पक्राउ परेको तर जाहेरीपछि उजुरीकर्ता प्रहरी र अदालतको सम्पर्कमा नगएकाले उनी ४० बर्षदेखि जेलमै रहन बाध्य भएका थिए ।

गोर्खाल्यान्ड आन्दोलनका क्रममा उनलाई राखिएको जेलमा आन्दोलनकारीले आगो लगाइदिएपछि उनी सम्बन्धित सबै कागजात पनि जलेका छन् । कागजात नभएपछि उनको सुनुवाई अझ लम्बिएको परिवारले जनाएको छ ।

कारगारमा तिम्सिनासँगै १० वर्ष बिताएका भारतीय नागरिक राधेश्याम दास गत असोजमा रिहा भएपछि उनलाई रिहा गर्न विभिन्न संघसँस्था र कोलकातास्थित नेपाली वाणिज्य दुतावासले पहल शुरु गरेका थिए ।

प्रतिक्रिया