थ्री नेसन्स कप : १२ हजार दर्शक, टिकट दर ७ सय र १५ सय

काठमाडौं । नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको एक खेलमा १२ हजार दर्शक प्रवेश गराउने एन्फाको तयारी छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरी चैत १० देखि १६ गतेसम्म हुने थ्री नेसन्स कपका लागि दशरथ रंगशालामा एउटा खेलका लागि १२ हजार दर्शकलाई मैदानमा प्रवेश दिने जानकारी दिएको हो । रंगशालाको क्षमता १५ हजार हो । कोरोना भाइरसको कारण तीन हजार कम गरी दर्शक प्रवेश गराउने एन्फाले जनाएको हो ।

रंगशालाको भिआइपीतर्फको प्याराफिटमा टिकट दर १५ सय रुपैयाँ र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकेको छ । जहाँ भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट एन्फाले बेच्ने छ ।

को मा डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको एन्फाले एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यस्तै, प्रतियोगिताबाट बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाको योजना छ । त्यस्तै, प्रतियोगिताको सम्पूर्ण तयारी करिब पूरा भएको छ ।

प्रतियोगिताका लागि कीर्गिस्तानबाट ३२ जनाको टोली आइतबार काठमाडौं आइपुग्नेछ । यता, बंगलादेशबाट ४० जनाको टोली बिहीबार नै काठमाडौंँ आइपुग्नेछ ।

प्रतियोगिताको विजेतालाई ५ हजार डलर र उपविजेतालाई ३ हजार डलर पुरस्कार दिइनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’लाई २ सय ५० डलर पुरस्कार दिइने एन्फाले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमले चैत १० गते प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ । एन्फले निकालेको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ । नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ।

अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया