बर्दियामा ‘मान्छे खान पल्किएकाे’ पाटेबाघ नियन्त्रणमा

वर्दिया । बर्दियामा बुधबार एउटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । पाटेबाघको आक्रमणबाट पटकपटक स्थानीयबासिन्दाको ज्यान जान थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट पाटेवाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा जनावरलाई आक्रमण गर्ने पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । यो बाघको आक्रमणमा यसअघि सात जना नागरिकको ज्यान गएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

नियन्त्रणमा लिइएको बूढो भाले बाघको खुट्टामा चोट रहेको र केही दाँतसमेत झरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । बाघलाई निकुञ्ज मुख्यालय ठाकुरद्वारामा ल्याउने तयारी छ ।
मङ्गलबार दिउँसो पाटेबाघको आक्रमणमा एक महिलाको ज्यान गएपछि निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट एउटा बाघ नियन्त्रणमा लिइएको थियो ।

यसैबीच, बाघले आक्रमण गर्ने खतरा बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले निकुञ्जका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ बन्द गरिएको जानकारी गराएको हो ।

पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा यो वर्ष १० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया