च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बुधबार (आज) राति अन्तिम दुई खेल हुँदैछन् । नेपाली समयअनुसार राति पौने २ बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिक र इटालियन क्लब लाजियो तथा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एथ्लेटिको मड्रिड खेल्दैछन्।

अन्तिम १६ को पहिलो लेगमा ४–१ ले जितेर बलियो अवस्थामा रहेको बायर्न लाजियोविरुद्धको दोस्रो लेगअघि बलियो अवस्थामा देखिन्छ । लाजियोविरुद्ध घरेलु मैदानमा बायर्नले खेल्न लागेको हो । हान्सी फ्लिक प्रशिक्षकका रुपमा आएदेखि बायर्नले घरेलु मैदानमा खेलेको ६ खेल नै जितेको छ । जसमा औसत गोलको अन्तर १८–३ देखिन्छ । यसैले अहिलेको अवस्थामा बायर्नविरुद्ध लाजियोलाई सहज हुनेछैन ।

डिफेन्डिङ च्याम्पियन बायर्नमा गोलकिपर म्यानुअल निउरको स्वस्थ्यलाई लिएर प्रश्न उठिरहेका छन् । खेलअघिसम्म निउर ठीक हुने विश्वासमा प्रशिक्षक देखिन्छन्। बुन्डेस लिगामा शीर्ष स्थानमा अघि बढिरहेको बायर्नलाई यो सिजन पनि च्याम्पियन्स लिगको उपाधि जोगाउन सक्ने टिमका रुपमा नै हेरिएको छ ।

त्यस्तै, पहिलो लेगमा १–० ले पराजित भएको एथ्लेटिको मड्रिडका लागि दोस्रो लेग खेलमा फर्कने अवसर हुनेछ । उस्तै निरन्तरताको खोजीमा चेल्सी रहनेछ ।

एथ्लेटिको मड्रिडविरुद्धको दोस्रो लेगको खेलमा चेल्सीका मेसन मोउन्ट र जर्जिनियो हुने छैनन् । दुवै एक खेलको प्रतिबन्धमा रहँदा चेल्सीलाई केही कठिन हुन सक्नेछ। डिफेन्डर थियागो सिल्भा र स्ट्राइकर टामी अब्राहम पनि चोटका कारण खेलमा हुने छैनन् ।

गएको वर्ष च्याम्पियन्स लिग अन्तिम १६ मा एथ्लेटिको मड्रिडले इंग्लिस टिम लिभरपुललाई हराएको थियो । अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको खेल गएको वर्षभन्दा लयमा रहेको बताइन्छ ।

प्रतिक्रिया