पोखरामा रेस्लिङ हुँदै, विजेताले एक लाख पाउने

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको रेस्लिङ प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने भएको छ । प्रतियोगिता पोखरामा चैत २० र २१ गते हुनेछ ।

नेपालका विभिन्न चर्चित रेस्लरहरुले प्रतियोगिगतामा भाग लिनेछन् । नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्णा श्रेष्ठले जानकारी दिइन् ।

कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको समेत उनले बताइन् । दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क एक सय र दुई सय तोकिएको छ। राखेप सदस्य राजेश गुरुङले यो प्रतियोगिताले रेस्लिङ खेलको विकासमा सहयोग पुग्ने बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले थप इट्टा थप्ने काम गरेको बताए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद एक लाखसहित च्याम्पियन बेल्ट र दोस्रो हुनेले नगद ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया