विशाल राई बने धनगढी एफसीको ‘मार्की खेलाडी’

काठमाडौं । राष्ट्रिय फुटबल टिमका नियमित सदस्य विशाल राई फ्रेन्चाइज टिम धनगढी एफसीका ‘मार्की खेलाडी’ बनेका छन् ।

आगामी बैशाखदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को टिम धनगढीले आफ्नो मार्की खेलाडीमा विशाल राईलाई सार्वजनिक गरेको हो । गो ड्रिमर्स प्रालीको स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिगका टिमले एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार मिडफिल्डर विशाललाई अनुबन्धन गरेको हो ।

टिमको लागि अन्य खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको धनगढी एफसीले जानकारी दिएको छ । विशाल राईको अनुबन्धनले टिमले नेपाल सुपर लिगमा राम्रो प्रदर्शन गर्ने धनगढी एफसीको विश्वास छ ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले सम्झौतापछि विशाललाई मार्की खेलाडी बनाउन पाउँदा खुशी रहेको बताए । उनले भने, ‘हाम्रो टिममा राष्ट्रिय टिमका उत्कृष्ट मिडफिल्डर विशाल राईलाई मार्की प्लेयरको रुपमा स्वागत गर्न पाएकोमा एकदमै खुशी छौं । उनको आगमनले टिम राम्रो बन्ने नै छ । हाम्रो टिमले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छु ।’

क्लबमा अनुबन्धित भएपछि विशालले अरु टिमले पनि मार्की खेलाडीको लागि प्रस्ताब गरेपनि धनगढीको योजना र व्यवस्थापन राम्रो लागेको बताए । उनले भने, ‘मलाई सुपर लिगका अरु टिमहरूले पनि प्रस्ताव गरेका थिए । तर, धनगढी एफसीको प्रस्ताव, योजना र टिम व्यवस्थापनको पक्ष मलाई राम्रो लाग्यो । जो खेलाडीले पनि जित्नको लागि खेल्न चाहन्छ, धनगढी एफसीले पनि च्याम्पियन बनाउने टिम र योजना बनाएको पाए ।’

प्रतिक्रिया