लिभरपुलको जितमा जोताको गोल

काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो ।
घरेलु टिम वुल्भ्सविरुद्धको जितमा डिएगो जोताले गोल ग रे। पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो । पहिलो हाफको अतिरिक्त समयमा जोताले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।
लिगमा निकै कमजोर प्रदर्शन गरिरहेको लिभरपुलले यो जितसँगै अन्तिम चारमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । लिभरपुल लिगको छैटौं स्थानमा उक्लिएको छ । २९ खेलबाट लिभरपुलको ४६ अंक छ । पराजित वुल्भस भने लिगको १३ औं स्थानमा छ। वुल्भ्सको २९ खेलबाट ३५ अंक छ ।
लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । सिटीको ३० खेलबाट ७१ अंक छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक हुँदा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान खेलबाट ५६ अंक छ ।








