कपटी राजनीति‚ शकुनी नेता

  • संकेत कोइराला

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका छन् । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन्‚ ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै हालतमा दिन्न ।’ चोरले ठाडो भाषामा सोध्यो‚ ‘त्यो आइप्याडमा चाहिँ के छ र, मैले नपाउने ?’

प्रधानमन्त्री ओलीले शान्त शैलीमा बेलिविस्तार लगाए‚ ‘यसमा राजनीतिक ज्ञान छ । मार्क्स, लेनिन, मदन भण्डारीको जनताको बहुदलीय जनवाददेखि समाज रुपान्तरणका सूत्र छन् । मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छ । चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन् । जनता लटपट्याउने काइदा कानुन छन् । अनन्त सत्ता हत्याउने रणनीति छन् ।’

प्रधानमन्त्रीका कुरा सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिनेगरी दुई चड्कन लगायो । अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए ।

चोरले भन्यो‚ ‘राजनीतिक प्रतिबद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हुन् । यो एजेण्डामा तिमी आलाकाँचा रहेछौ, त्यसैले मैले थप्पड लगाएको हो । मलाई शिक्षा दिने गुरुले पनि मेरो मनमा नभएर कापीमै ज्ञानका कुरा लेख्थे । उनले सिकाएजस्तै मैले पनि ज्ञानका कुरा काममा नभएर कापीमै उतारें । त्यही भएर म चोर भएँ । कापी हेरेर ज्ञान दिने र कापीमै ज्ञानका कुरा लेखेर राख्नेहरू सबै मजस्तै चोर हुन् । त्यसैले मैले चोरलाई हिर्काएको हो, प्रधानमन्त्रीलाई हैन ।’

चोरका अर्थपूर्ण तर्कले प्रधानमन्त्री निरुत्तर भए । सयौं सुरक्षाकर्मीबाट घेरिएको ठाउँबाट चोर ससम्मान बिदा भयो ।

सरकार अर्को बजेटको तयारीमा जुटिरहँदा विकास खर्च अधिकतम १६ प्रतिशतको हाराहारीमा छ । एक-डेढ महिनाभित्र अर्को वर्षका लागि बनाइने बजेटको सुतकले भेटेपछि यो वर्षका सम्पूर्ण काम ठप्प हुँदै जानेछन् । इन्जिनीयरकी छोरीको बिहेमा समयमै ठेकेदारले बैंकमा बिहे खर्च जम्मा नगरेको दोष आयोजनाले सामना गर्नुपर्नेछ ।

नेताले भनेको ब्रान्डको गाडी, इन्धन र चालक नपठाएको निहुँमा आयोजना प्रमुख कामकै चटारोमा सरुवा हुँदा अरबौंको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने अवस्था दोहोरिनेछन् । गाडी, सोफा, टेबुल, कुर्सी, रंगीन पर्दा खरिदमा देखिएको देशव्यापी कीर्तिमानी समृद्धिको पहिलो र अन्तिम खुड्किलो भएको छ ।

नेताले भनेको ब्रान्डको गाडी, इन्धन र चालक नपठाएको निहुँमा आयोजना प्रमुख कामकै चटारोमा सरुवा हुँदा अरबौंको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने अवस्था दोहोरिनेछन् । गाडी, सोफा, टेबुल, कुर्सी, रंगीन पर्दा खरिदमा देखिएको देशव्यापी कीर्तिमानी समृद्धिको पहिलो र अन्तिम खुड्किलो भएको छ । आर्थिक वर्षको उत्तरार्द्ध हुँदै गर्दा खर्ब बढी बजेटको आकार संकुचन गर्नुपरेको छ । संघीयताले थुम्का थुम्कामा सेवक नभएर शासकका चेकपोष्ट बढाएको छ । ठूला मान्छेबाट आजित देश, ठूला मान्छेकै घमण्डले अस्थिपञ्जरमा अनुवाद हुँदैछ । लुटतन्त्रका उम्दा पात्रहरुले सन्तानका लागि शहरमा वातानुकूलित घर, चिल्ला गाडीको मेसो त मिलाइदिए तर देशप्रेमको संस्कार दिएनन् । त्यसैले घरघरमा सन्तान होइन, आत्मघाती बम उत्पादन भइरहेका छन् । त्यसैले माटो मुटुमा नभएर फेसबुकमा दुख्ने गर्छ । नेपालमा हाँस्न बिर्सिएको नेपाली विदेशी भूमिमा खुशी हुने भाकल गर्छ ।

रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य केले बनायो ? उत्तर हाजिर छ– राजनीति । दक्षिण अफ्रिका देशभन्दा पहिल्यै मानिस नेलसन मण्डेला सम्झन्छन् । उनको विचारसँग सहमत/असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् ।

चीन जाने जोसुकै होस् न माओको मृत शरीरको परिक्रमा नगरी फर्किदैन । आखिर किन ? राजनीतिप्रति उनीहरुको इमान्दार संकल्प । घर कि देश ? यी दुई रोज्ने परिस्थितिमा जन्मिएको माटोको हितका लागि यिनीहरुले परिवार त्यागिदिए । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् ।

देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । दलाई लामासँग के छैन ? सबैथोक हुँदा पनि धर्ती नहुँदा उनको जीवन अपूर्ण छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु-जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम सिवाय केही होइन ।

गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्‍याउनु चाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके ।

खालखालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनुपर्छ । त्यसपछि चिन्ता होइन, चिन्तनको सुन्दर बीउ तमाम देशवासीमा छर्नुपर्छ । एकरातमा एउटा नाइट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? तर यसका लागि आफूबाहेक सबै बेठिक भन्ने मानसिकता भने जरैदेखि उखेलेर मिल्काउन जरुरी छ ।

नबिर्सौं देश बनाउनु भनेको उच्च मनोवलको वृद्धि हो । जीवनबाट बिदा लिनुअघि रावणले रामलाई भनेका थिए‚ ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि म कमजोर छैन । देशको क्षेत्रफल तिम्रोभन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाइँ जित्न सकिनँ । यसको एउटै कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसँग छ ।’ राजनीतिशास्त्रले भन्छ‚ ‘जनता कहिल्यै गलत हुँदैनन् ।’ तर जनता नै नमिल्ने अनौठो संस्कृति समाजमा उन्मत्त हुँदैछ । कसैले बोलेको कसैलाई पच्दैन । राजनीतिक रिङ बाहिर बसेकाहरुको प्रदूषणले राजनीतिका कलपूर्जामा खिया लागेको छ ।

खाडी, युरोप, अमेरिका बस्नेदेखि सडक सफा गर्नेसम्मलाई सिंहदरबारको अनौठो तिर्खा छ । देश संघीयतामा गएर संघीय संरचना बनिसक्दा पनि पदाधिकारीहरुलाई पाएको पदप्रति स्नेह छैन । देश बनाउने रोडम्यापभन्दा उनीहरुलाई सलामीको लोभ छ ।

मन्त्री भएपछि आदेश दिनुपर्छ भन्ने असफल राजनीतिक डक्टरिनबाट ग्रसित तिनीहरु ठाडो बिजुलीको पोललाई पनि आदेश फर्माउन आतुर छन् । जनताको आम्दानी स्रोत सुक्दै जाँदो छ । घरखेत बाँझा छन् । डोरी लाहुरे, तोरी लाहुरे विदेशी भूमिमा बसेर नेपालप्रति अर्तीको अगाध स्नेह बर्साउन मस्त छन् । गाउँहरू नगरपालिकामा अनुवाद भएका छन् । गाउँ समिति हुँदा पचास रुपैयाँमा सकिने कामका लागि अहिले पाँच हजार तिनुपर्ने गरी बढाइएको छ । मन्त्री, जनप्रतिनिधिहरु कुस्तीमा उत्रिने पूर्वाभ्यासमा उत्रिएका छन् । काम गर्ने सल्लाहमा विमति भएर नभई बाँडफाँटमा कुरा नमिलेर रस्साकस्सीका समाचार बाक्लै सुनिन, पढिन थालेका छन् । उत्साहबिना संसारमा कहाँ पो विकास भएको छ र ?

एउटा प्रसंग आफन्तीको ।

आफन्तीको घर पुगेर राजा सोध्न थाले‚ ‘तेरो कति जग्गा छ मलाई देखा’

आफन्तीले जवाफ दियो‚ ‘मेरो सम्पूर्ण जग्गा साहुको कब्जामा छ ।’

तेरो अन्नको भण्डार कहाँ छ नि ? त्यो पनि सबै हजुरकै दरबारमा पुगिसकेको छ । अनि तेरो घरको छानो खोइ ? त्यो पनि साहुले लग्यो । तेरो घरको फर्निचर ? हजुरकै हाकिमले उठाएर लग्यो । तेरो छोरा कहाँ छ नि ? जिल्ला अधिकारीको अत्याचारले मर्‍यो । अनि तेरी स्वास्नी खोइ ? हजुरले देखेमा मन पराइबक्सेला भन्ने डरले भर्खरै लुक्न गई ।

आफन्ती तेरा प्रत्येक संवाद झुठा हुन् । मसँग यसरी झुठो बोल्ने साहस कसरी गरिस् ? अन्त्यमा आफन्तिले हिम्मत जुटाएर बिन्ती गर्‍यो‚ ‘सरकार ! यी सबै कुरा सही र सत्य हुन् । यदि मैले झुठो बोलेको भए, हजुरलाई यसरी रिस उठ्ने नै थिएन ।’

पात्र फेरिए पनि आफन्तिले भोगेको नियति सक्कलबमोजिम नक्कल उस्तै छ ।

एउटा समय थियो‚ हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँड बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उद्याउँथे । निःशस्त्र महिलाहरू केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा सामर्थ्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आफूले गर्ने ढाडस दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए ।

तर, संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभबिना नहुने दिन आए । हुँदाहुँदा नेपालमात्र त्यस्तो देश हो, जहाँ राजस्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ ।

कर्मचारीहरू सेवाग्राही चिन्दैनन्, विचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाई दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ ।

पछिल्लो समय हेर्ने हो भने ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने ‘भोजराज घिमिरे’ चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो ।

त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, अनुमान लगाउन सकिन्छ । कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर विचित्र छ । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन ।

सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई केको थ्रेट ? हातमुख जोर्नेेदेखि बोतलको समावेशी झोलसमेत अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु र ?

नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पुर्‍याइसके । लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालीन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो ।

भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी दमदार देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । सांसदहरू हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन ।

फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । जनयुद्ध भनिएको सशस्त्र युद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।

एमाले, कांग्रेस, माओवादी‚ जसले जतिसुकै फूटानी लाएपनि देशको सक्कली अनुहार तथ्यांकले देखाउने हो । कोही सत्तामा पुगेर मात्तिनु र कोही प्रतिपक्षीमा पुगेर आत्तिनुले केही फरक पर्दैन । कांग्रेसइतर दलका नजरमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्र फलेको फुलेको छ किनभने उनीहरु सत्तारुढ छन् । सत्ताबाहिर जानासाथ कांग्रेसले अब लोकतन्त्रमा झुसिलकिराको प्रवेश देख्न थालिसकेको छ ।

यी दुवै प्रवृत्तिले लोकतन्त्रको मर्म बोक्दैन । साँचो लोकतन्त्र त त्यो हो, जसले राज्य सञ्चालन प्रक्रियामा जनतालाई थोरैभन्दा थोरै गुनासोको अवसर दिन्छ ।

प्रतिक्रिया