४ महिनापछि एमालेका दुई खेमाबीच छलफल, दुवै आ–आफ्नै अडानमा

काठमाडौं । करिब ४ महिनापछिको सम्वादहीनतालाई तोड्दै एमालेका दुई खेमाबीच भएको सोमबारको छलफल सकिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका खेमाबीच आज पार्टी मुख्यालय धुम्बाराहीमा छलफल भएको थियो ।

नेपाल पक्षीय नेता रघुजी पन्तले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा आन्तरिक एकताको विषयमा छलफल भएको थियो । ‘छलफलमा फागुन २८ को ओली पक्षले गरेको निर्णय खारेज विषयमा पनि छलफल भयो,’ पन्तले भनेका छन् ‘हामीले आजको सम्वादलाई सकारात्मक लिएका छौँ । पार्टी अध्यक्षले अझ सकारात्मक रूपमा अगाडि बढाउनुपर्छ ।’

बैठकमा ओली–नेपालसँगै उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्तलगायतका नेताहरु पनि सहभागी छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए ।

गत फागुन २८ गते बालुवाटारमा ओलीले विशेष बैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत् राखिएको संस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया