म्यान्मार: ‘रक्तपातपूर्ण दिनमा ३८ प्रदर्शनकारीको मृत्यु’

काठमाडाैँ । म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन् ।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ । बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् । याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो ।

त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो । चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् । बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ । आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।

दूतावासले म्यान्मारलाई ‘हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको थियो । फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् ।

नेत्री तथा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू ची नजरबन्धमा छिन् । त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन् । तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै ‘क्रान्ति’लाई निरन्तरता दिइने बताएका छन् ।

उनले भने, ‘यो देशको लागि अँध्यारो क्षण हो। विद्रोहले जित्नैपर्छ ।’ कूपछि म्यान्मारमा सेनाले एक वर्ष लामो सङ्कटकाल घोषणा गरेको छ । एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो । सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए ।

देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो । नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा त्यहाँ सैनिक कू भएको हो । –बीबीसी

प्रतिक्रिया