प्रिन्स र अनुमायालाई उपाधि

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र आर्मी क्लबकी अनुमाया राईले प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ एपिएफका दिपेश धामीलाई पराजित गर्दै प्रिन्सले उपाधि जिते ।

प्रिन्सले दिपेशविरुद्ध २३–२१ र २१–१८ को जित निकाले । विजेता बनेका प्रिन्सले नगद ५० हजार रुपैयाँ पाए । त्यस्तै, उपविजेतामा चिक्त बुझाएका दिपेशले नगद ३० हजार पाए । त्यस्तै तेस्रो स्थानमा रहेका पुलिस क्लबका विष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०–१० हजार पाए ।

आईतबार सांगलास्थित साइनोको कभर्डहलमा भएको महिला एकलतर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१० र २१–१७ को सोझो सेटमा पराजित गर्दै अनुमाया राईले उपाधि जितिन् । अनुमायाले नगद ३० हजार पाहिन् । उपविजेता बनेकी अमिताले नगद १५ हजार पाइन् ।

साइनो स्पोर्ट्स हलको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिशसिंह ठकुरीको जोडीले आयोजक साइनोका अभिषेक बोश र सुजन थापाको जोडीलाई हराउँदै उपाधि जिते ।

विशाल र प्रनिशको जोडीले २१–१७, १६–२१ र २१–१७ को सेटमा जित निकाले। विजयी जोडीले नगद ५० हजारसहित ट्रफी जिते । उपविजयी जोडीले नगद ३० हजार पाए ।

पुरुष भेट्रान ४५ तर्फ भने जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी विजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेस क्लबका पूर्णहरि होना र संजय कपालीको जोडीलाई १२–२१, २२–२० र २१–१६ ले पराजित गरेका हुन् । विजयी जोडीले ४० हजारसहित ट्रफी पाए । उपविजयी जोडीले २५ हजार पाए ।

प्रतिक्रिया