भारतीय पर्यटकलाई हेला गर्दा खस्कँदो प्रदेश १ को पर्यटन

  • भविश श्रेष्ठ

पूर्वी नेपालमा पर्यटनको विकासका लागि भारतीय बजार सबैभन्दा महत्वपूर्ण छ । त्यसैले भारतीय बजारमा हुने प्रचार प्रसारको नेपालमा धेरै नै अर्थ रहन्छ । त्यसैको आधारमा पनि पूर्वका पर्यटन व्यवसायी पर्यटक खोज्दै भारतका धेरै ठाउँसम्म पुगे, पुगिरहेकै छन् । काठमाडौंमा एउटा समूह छ, जो पूर्वी नेपालमा पर्यटक पठाउनै हुँदैन भन्ठान्छ ।

भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ । उनीहरुको र हाम्रो रहनसहन पनि मिल्छ । त्यसैले हामीले भित्र्याउन सक्ने पर्यटक मूख्यगरी भारतीय नै हुन् तर सरकारले तिनै भारतीय पर्यटकलाई असहज बनाइदिँदा प्रदेश १ को पर्यटन विकास हुन सकेको छैन ।

भारतबाहिरका पर्यटक खोज्नु पनि पर्छ तर तत्कालका लागि पूर्वी क्षेत्रमा चाहिँ भारतबाहिरका पर्यटक ल्याएर यो क्षेत्र उकास्छु भन्नु मूर्खतामात्र हो ।

अहिले पनि भारतीय पर्यटकले नै पूर्वको बजार धानिरहेका छन् । तर हामीले उनीहरुबाट थप फाइदा लिन सकिरहेका छैनौँ । पर्यटक भारतीय नाकाबाट नेपाल भित्रनासाथ गरिने व्यवहार नै उनीहरुलाई अकर्षित गर्ने खालको छैन । सीमा नाकाबाट गाडी पास हुन नै तीन-चार घण्टा भन्सारमा बस्नुपर्छ । बल्लतल्ल भन्सारबाट नेपाल छिरेपछि उनीहरुलाई सरकारी निकायबाट हतोत्साही बनाउने काम हुन्छ । प्रहरी आफैँले पर्यटकलाई जाँचका नाममा दिने दुःख पनि अचाक्ली छ ।

सीमा नाकामा यातायत कार्यालय नहुँदा रुट परमिट, सवारी अनुमतिलगायतको समस्या छ । अझ अहिले त कोभिड- १९ पछि सीमा नै बन्द छ । यसका कारण पर्यटन क्षेत्र अस्तव्यस्त भएको बारेमा सोचिदिने र यो अप्ठेरोको गाँठो फुकाइदिने काम कसैले गरेकै छैन ।

एक त भारतीय सवारीसाधनले नेपालमा प्रवेश पाएका छैनन् भने भन्सारै खुलेर सहज हुँदा पनि भारतीय पर्यटकले पाउने सास्ती धेरै छ ।

स्थानीय तहपिच्छेका पटके सवारी करले समेत भारतीय पर्यटक हैरान छन् । पर्यटकीय स्थलहरू भेडेटार, इलाम, फिक्कल, बराहक्षेत्र, पिण्डेश्वर, हलेसी, पाथिभरालगायत पूर्वी नेपालका मुख्य पर्यटकीय गन्तव्य हुन् । र मौसमअनुसार यी क्षेत्रमा पर्यटकको ठूलो भिड नै लाग्छ तर त्यसलाई क्यास गर्न हामीले सकेका छैनौँ ।

भारतीय नागरिक भन्ने थाहा पाउनासाथ हेप्ने, हेला गर्ने, गाली गर्ने बानीले पनि भारतीय पर्यटक नेपाल आउन मान्दैनन् ।

सामाजिक सञ्जालमा गरिने गाली त एक ठाँउमा छ, होटल र रेस्टुरेन्टमा गरिने व्यवहारले पनि भारतीय पर्यटकको चित्त दुखाइ छ । उनीहरुलाई राम्रो व्यवहार गर्न पाए उनीहरू नेपालमा धेरै समय बस्थे, अरुलाई पनि नेपाल घुम्न जान प्रोत्साहन गर्ने थिए ।

त्यसले त हामीलाई नै फाइदा हुने थियो । तर यो ज्ञान नै हामीलाई छैन ।

रेस्टुरेन्ट, यातायात, ट्राभल क्षेत्रमा काम गर्नेहरुलाई पनि यससम्बन्धी ज्ञान दिइएको छैन । तालिम र सिप सिकाइएको छैन ।

त्यसैले भारतबाट आउने पर्यटकले नेपालमा खर्च गरेका छैनन् । उनीहरू मन्दिर दर्शन गर्न आउने र भारत फर्किहाल्ने गरेका छन् । दर्शन गर्नै आएपनि नेपालमा राम्रो आतिथ्यता भएमा त केही दिन घुमौं भन्ने भएर उनीहरू धेरै समय बस्ने थिए नि । छोटो समयका लागि आउने र फर्किहाल्ने पर्यटकले त के खर्च गर्छ र हामीले त्यसबाट फाइदा लिनु ?

हामीले प्रदेशमा भारतीय पर्यटकलाई यहीँ राख्नेगरी नयाँ खालको पर्यटनसम्बन्धी गन्तव्य बनाउनुपर्छ । त्यसमा संघीय सरकारको त अहिलेसम्म ध्यान गएन नै प्रदेश सरकारको पनि अझै ध्यान गएको छैन, यो दुःखद हो । गफमा मात्र पर्यटन विकास भनेर हुँदैन । काम पो थाल्नुपर्‍यो ।

पूर्वाधारमा छैन लगानी
प्रदेश १ को पर्यटन क्षेत्रमा निजी क्षेत्रले मात्रै लगानी गरिरहेको छ । करोडौँ रुपैयाँ खर्च गरेर होटलहरू खोलेका छन् । पुराना होटलले पनि लगानी बढाएका छन् । पर्यटकका लागि पैसा खर्च गर्ने प्याकेज बनाएका छन् । तर सरकारको लगानी खै त ?

No description available.

पर्यटकीय स्थलमा पुग्ने बाटोघाटोको व्यवस्था हेर्नुस् कस्तो छ ! तीनजुरे–मिल्के–जलजलेको कुरा गर्नुस् वा सगरमाथा कोरिडोरको प्याकेज नै होस्, अथवा बराहक्षेत्र पिण्डेश्वर सर्किटको अवस्था हेरेपछि अर्कोपटक पर्यटक नेपाल फर्कनै चाहँदैनन् ।

यसका लागि राज्यले लगानी केही गर्नुपर्‍यो । निजी क्षेत्रले सडक नै बनाउन त सक्दैन नि । सरकारले यसतर्फ ध्यान दिएको खोइ ? सरकारले केही भएपनि पर्यटन क्षेत्रमा सहयोग गरोस् भन्ने लागेर हामीले पैसा खर्च गरेर आफैँले पर्यटक खोजेर माउन्टेन फ्लाइटको व्यवस्था गर्‍यौँ । तर त्यसमा पनि राज्यले सहयोग गरेन । फेरि कोभिड आयो, हाम्रा कार्यक्रमहरू सफल हुन सकेनन् ।

पर्यटक भित्र्याउने आधार हामीले शुरु गरेको माउन्टेन फ्लाइटलाई सहयोग गर्न सरकारले कुनै पहलकदमी नै लिएन । हामी व्यवसायी मिलेर सुरु गर्‍यौं, सरकारले आफ्नो काम देखाएको जस्तो पनि गर्‍यो तर त्यसलाई निरन्तरता दिने काम खै त

राज्यको तर्फबाट भएको ?
विराटनगरसम्म मात्र भारतीय गाडी ल्याउन दिने हो भने यहाँ पार्किङको व्यवस्थापन गरेर उनीहरुलाई प्रदेशका धेरै ठाउँमा घुमाउन सकिन्छ । अघिल्लो दिन आएको पर्यटक भोलिपल्ट घुम्ने व्यवस्था गरेर नेपालमा नै बस्नेगरी अघि बढ्नुपर्छ । पर्यटक बस्यो भने खर्च गर्छ । अनि पर्यटन क्षेत्रमा आम्दानी बढ्छ । यसमा सरकारले खै चासो दिएको ? प्रदेश सरकारले हवाई कम्पनीसँग कुरा गरेर तालिका बनाएर पर्वतीय उडान गर्नुपर्छ । प्रदेश १ मा यस्तो अवस्था छ, यी क्षेत्रमा घुम्न सकिन्छ, यति दिन लाग्छ, भनेर पर्यटक प्रवर्द्धनका लागि भारतीय बजारमा खै प्रचार प्रसार गरेको ? त्यो पनि त गर्न सकिन्छ । भिजिट नेपाल त भनियो, त्यो पनि कोभिड महामारीले गर्दा त्यसै सकियो, त्यसले पनि प्रदेश १ को प्रर्यटन प्रवर्द्धनमा केही हुन सकेन ।

विभिन्न प्रकृतिका भारतीय पर्यटक
भारतबाट आउने पर्यटकहरू विभिन्न प्रकृतिका छन् । विहारका भारतीय पर्यटक बस्ने टन्न रक्सी र मासु खाने अनि टन्न खर्च गर्ने सुत्न जहाँपनि सुत्ने खालका हुन्छन् । त्यस्तै बंगालतिरबाट आउने भारतीय पर्यटकमा खर्च कम गर्न खोज्ने अनि सुत्नका लागि राम्रो ठाउँको खोजी गर्ने हुन्छन् भने दार्जिलिङ सिक्किमबाट आउने पर्यटक प्रायः आफन्त खोजी गर्ने खालका हुने भएकाले कस्ता प्रकृतिका भारतीय पर्यटक भित्र्याउने भन्नेले पनि अर्थ राख्छ । तराईको पर्यटन विहारी र बंगाली पर्यटकबाट चल्ने हो । तेश्रो मुलुकको पर्यटक पहिला पनि थिएनन् र अहिले पनि छैनन् ।

सीमा नाकाको मार
हामी तराईका पर्यटन व्यवसायी भारतसँगको सीमा नाका बन्द हुनुको मारमा परेका छौं । पर्यटक ल्याउने कामबाहेक अन्य सबै काम दुई नम्बरी बाटो भएर पनि भई नै रहेको छ । सीमा नाका बन्दका कारण सबैभन्दा समस्या र अप्ठेरो परेको भनेको पर्यटन क्षेत्र नै हो । करोडौं लगानी गरेर खुलेका होटल अहिले पनि बिहे व्रतबन्धको भरमा छन् ।

त्यहाँको लगानी तथा त्यहाँ कार्यरत हजारौँ श्रमिक र उनीहरुको परिवारको कुरा पनि त छ । यसबारे अझै केही सोचिएको छैन । राहतका लागि सरकारी कार्यक्रम पनि आएका छैनन् । गोष्ठी सेमिनार तथा कुनै ठूला कार्यक्रम आउँदा पनि केही राहत त हुने थियो, त्यो पनि छैन । अहिले हाम्रो एउटै माग भनेको सरकारले सीमा नाका खोलेर सबै सिमाबाट हुने कामलाई कानुनी बनाउनेगरी काम थाल्नुपर्छ अनि मात्र पर्यटक भित्र्याउने काममा पनि राहत मिल्नेछ ।

(पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन प्रवर्द्धन पुनरुत्थान समितिका प्रदेश १ का संयोजक श्रेष्ठसँग मकालु खबरका प्रदेश १ प्रतिनिधि सुमन सुस्केराले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया