कांग्रेस संसदीय दलद्वारा ताप्लेजुङका आगलागी पीडितलाई सहयोग

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा प्रदेश सांसद प्रतापप्रकाश हाङगाम र चन्द्रप्रसाद श्रेष्ठ रहेकाे टाेलीले प्रभावित क्षेत्र पुगेको टोलीले आगलागी पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।

प्रमुख सचेतक कार्कीका अनुसार ८० बोरा चामल, एक क्वीन्टल दाल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेस, तन्ना, ब्ल्याँकेट एकसय थान, लत्ताकपडा र जुत्ता–चप्पल उलब्ध गराइएको हो । संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई राहत सामग्री हस्तान्तरण गरेको थियो ।

कार्कीले आगलागीले बजार पूर्ण रुपमा ध्वस्त भएकाले पीडित परिवारको पुर्नस्थापनाका लागि प्रदेश १ सरकारले विशेष राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए । संसद बैठकमा समेत स्थानीयको मागलाई जोडदार ढंगले उठाउने उनकाे भनाइ छ।

घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार र ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेपनि त्यो अपुग हुने देखिएको कार्कीले बताए।

राहत तथा पुर्नस्थापनाको लागि प्रति परिवार कम्तिमा रु. ३ लाख उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋणसमेत दिन स्थानीयले माग गरेको कार्कीले बताए ।

प्रतिक्रिया