म्यानचेस्टर सिटीको जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम फुलहामविरुद्ध सिटीका जोहन स्टोनेस, गाब्रियल जिसस र सर्जियो अगुएरोले गोल गरे । पहिलो हाफसम्म सिटीले फुलहामविरुद्ध गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । सिटीका लागि खेलको ४७ औं मिनेटमा जोहनले गोल गर्दै १-० को अग्रता दिलाए ।

५६ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले २-० को अग्रता बनायो । ६० औं मिनेटमा भने सर्जियोले पेनाल्टीबाट गोल गरेपछि सिटीले ३-० को सहज जित निकालेको हो ।

लिगको शीर्ष स्थानमा रहेको सिटीले जितसँगै फराकिलो अंक दूरी बनाएको छ । सिटीले ३० खेलबाट ७१ अंक बनाएको हो । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १७ अंकले अघि छ । म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ । लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २८ खेलबाट ५३ अंक छ ।

प्रतिक्रिया