काठमाडौं मेयर्स कपको उपाधि पुलिसलाई

काठमाडाैं । नेपाल पुलिस क्लबले ‘काठमाडौं मेयर्स कप’ क्रिकेटको उपाधि जितेको छ। फाइनलमा एपिएफलाई आठ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले एपिएफलाई स्तब्ध पार्दै उपाधि चुम्यो। १०६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायाे ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैया पुरस्कार पाउँदा एपिएफले तीन लाख रुपैयामा चित्त बुझाएकाे छ ।

पुलिसको जितमा ओपनर सुनिल धमलाले अविजित ५९ रन बनाए । त्यस्तै, कुशल भुर्तेल र अलिकुमार साहले १५–१५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे।

एपिएफका अविनाश बोहरा र भुवन कार्कीले समान १–१ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले पुलिसलाई झिनो लक्ष्य दिएको हो। २९.४ ओभरमा सबै विकेटको क्षतिमा एपिएफले १०५ रन मात्रै बनायो। एपिएफका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन्। बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए। १० रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान शरद भेषावकर शुन्यमै आउट भएपछि एपिएफ दबाबमा आएको थियो।

यसअघि शंकर राना चार र आशिफ शेख शुन्यमै आउट भएका थिए। एपिएफका ब्याट्सम्यानले पुलिसविरुद्ध खुलेर खेल्न सकेनन्। पुलिसका गुल्सन झा र सागर ढकालले समान ४–४ विकेट लिए।

प्रतिक्रिया