नेपालले खेल्ने विश्वकप छनोटको खेल अब कुवेतमा

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण र एसियन छनोटमा नेपालले खेल्नुपर्ने बाँकी ‘होम’ खेल अब कुवेतमा हुने भएको छ । एसियन फुटबल महासंघ (एएफसी) ले शुक्रबार कोरोनाको कारण देखाउँदै खेल स्थान परिवर्तन गर्दै कुवेतमा गर्ने निर्णय गरेको हो ।

समूह एको बाँकी खेल चीनमा, समूह बी को कुवेत, समूह सी को बहराइन र डी को साउदी अरबमा गर्ने एएफसीले जनाएको छ ।

त्यस्तै, समूह इ को कतारमा हुँदा एफको जापान, जी को युएई र समूह एचको दक्षिण कोरियामा बाँकी खेल आयोजना गर्ने एएफसीले जानकारी दिएको छ ।

एएफसीको यस्तो निर्णयसँगै नेपाललगायतका देशहरुलाई भने घाटा भएको छ । आफ्नो घरेलु मैदानमा खेल्न बाँकी रहेको ‘होम’ खेल विदेशी भूमिमा खेल्नुपर्ने भएको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो ।

अब नेपालले कुवेतमा २०७८ को जेठ २० गते चाइनिज ताइपेईसँग खेल्नेछ । त्यस्तै, जेठ २४ गते जोर्डन खेल्ने नेपालले अन्तिम खेल २८ गते खेल्नेछ ।

विश्वकप छनौटमा समूह बीमा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक–एक साथै कुवेतसँग दुई खेल हारेको छ।

प्रतिक्रिया