ओलीतिर लागेका माओवादी नेतालाई प्रचण्डको सन्देश : ‘फकाइँदैन, उतै बसे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीतिर लागेका पूर्वमाओवादी नेताहरुलाई आफूले नफकाउने स्पष्ट पारेका छन् । शुक्रबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

साविक नेकपा विभाजित हुँदा ओलीतिर लागेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, दावाल लामालगायतका माओवादी पृष्ठभूमि भएका नेताहरुप्रति इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएर… । बाबुरामजीसँग वैचारिक संघर्ष भयो । जे होस् टोपबहादुरजीले साथ दिनुभयो भनेर सब गरेँ भन्दा त यो गति ।’

यस्तै प्रचण्डले आफूले आत्मसमीक्षा गर्न थालेको पनि बताएका छन् । ‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री,’ प्रचण्डले भनेका छन्, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

प्रतिक्रिया