‘मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप’

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन् ।

उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश दिने बताएका छन् । सबैलाई पालो आएपछि खोप लगाउन पनि उनले आह्वान गरे ।

एक वर्षको सामूहिक क्षति र बलिदानपश्चात् अब देशका सामु राम्रा दिनहरू आएको उनले बताए । जुलाई ४ को अमेरिकी स्वतन्त्रा दिवसको समयताका स-साना भेला गर्न सकिने सम्भावना बढेको पनि उनले बताए ।

कोभिड-१९ ले अमेरिकामा पाँच लाखभन्दा धेरैको ज्यान लिइसकेको छ । पहिलो र दोस्रो विश्वयुद्ध अनि भियतनाम युद्ध र सेप्टेम्बर ११ को हमलामा मारिएका कूल अमेरिकीको सङ्ख्याभन्दा यो धेरै हो ।

यसअघि राष्ट्रपति बाइडनले १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत् अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुने तर्फ पहिलो पाइला चालिएको बताएका थिए । उक्त प्याकेजबारेको कानुनमा हस्ताक्षर गरेपछि उनले उक्त टिप्पणी गरेका हुन् । –बीबीसी

प्रतिक्रिया