सातदोबाटोले उचाल्यो ट्रफि

काठमाडौं । अन्तिम खेलमा जित निकाल्दै सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलको ट्रफि उचालेको छ । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई १-० गोलले पराजित गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले आरसिटीलाई पराजित गरेको हो । खेलको ६७ औं मिनेटमा सातदोबाटोले गोल गर्दै जित निकाल्यो । बिहीबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

दुई खेलअघि नै सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले २८ अंक बनाउँदै लिग टुंग्यायो । च्याम्पियन सातदोबाटोले आफ्नो ११ खेलमध्ये ९ खेलमा जित, १ खेलमा हार र एक खेलमा बराबरी खेल्यो । लिगको दोस्रो स्थानमा रहेको खुमालटारले ११ खेलबाट २५ अंकमा लिग सकायो ।

त्यस्तै, बाँसबारी क्लबले ११ खेलबाट २१ अंक बनाउँदा चौथो स्थानमा रहेको ब्वाइज युनियन क्लबले १७ अंक जोड्यो । त्यस्तै, लिगको पाँचौं स्थानमा मध्यपुर युथ एसोसिएसन रहँदा छैटौंमा श्री भगवती, सातौंमा नयाँबस्ती, आठौंमा श्री कुमारी, नवौंमा आरसिटी, १० औं स्थानमा टुसाल युथ क्लब रहे । लिगको ११ औं स्थानमा झम्सिखेल युथ क्लब रहँदा लिगको पुछारमा रहेको पुल्चोक स्पोर्ट्स क्लबले भने १२ औं स्थानमा लिग सकायो । त्यस्तै, पुल्चोक भने सी डिभिजनमा घटुवा भएको छ ।

बी डिभिजन लिगको च्याम्पियन बनेको सातदोबाटोले १५ लाख रुपैयाँ पाएको छ । त्यस्तै उपविजेता खुमालटार युथ क्लबले १० लाख रुपैयाँ पाएको छ । त्यस्तै, तेस्रो भएको बाँसबारीले आठ लाख, चौथो भएको ब्वाइज युनियनले पाँच लाख रुपैयाँ पाए ।

प्रतिक्रिया